-कमलकुमार बस्नेत
काठमाडौँ, ३ साउनः उनीहरु अधिकांशको बाल्यकाल पहाडी र हिमाली क्षेत्रमा घाँसदाउरालगायतका दैनिकीमै बित्यो । पहाडका उकाली र ओराली छिचोल्दै अघि बढेका उनीहरुका पाइला कतिबेला दौडिन थाले उनीहरु आफैँले मेसो पाएनन् । गाउँघरका अप्ठ्यारा बाटोमा हिँड्न सिकेका उनीहरुका पाइला यतिबेला विश्वका विभिन्न देशमा आयोजना हुने प्रतियोगितामा दौडिरहेका छन् । कति लहैलहैमा त कतिपय रहरले दौडिन सुरु गरेका उनीहरु अहिले यसैमा करिअर खोजिरहेका छन् । त्यति मात्रै होइन, दौडिएरै नेपाल र नेपालीको नाम विश्वमा चम्काइरहेका छन् । धावकका रुपमा करिअर बनाउँदै गरेका उनीहरुलाई थप प्रतिष्पर्धी बनाउन र अन्तर्राष्ट्रियस्तरमा अवसर दिलाउने सहयोगी भूमिका निर्वाह गरिरहेको छ, मञ्जुश्री ट्र«ेल रेसले । मञ्जुश्रीले विभिन्न आयोजनामार्फत उनीहरुलाई विभिन्न अवसर प्रदान गर्नुका साथै थप प्रतिस्पर्धी पनि बनाउँदै लगेको छ । आज हामी केही नेपाली महिला धावकबारे चर्चा गर्दैछौँ ।
निर्मला राई,खोटाङ
खोटाङकी ३३ वर्षीया निर्मला राईले नेपालको सबैभन्दा लामो मञ्जुश्री ट्रेल रेस एक सय माइल अर्थात् एक सय ७० किलोमिटरको दूरी ३४ घण्टा ५४ मिनेट ३० सेकेण्डमा पूरागरी कीर्तिमानी जीत दर्ता गरिन् । उनले यस रुटमा कायम यसअघिको कीर्तिमानलाई बिना कुनै प्रशिक्षण एक घन्टाभन्दा बढी समयले तोडेकी हुन् । उनी अब आफूलाई अन्तर्राष्ट्रिय धाविकाका रुपमा स्थापित गर्ने योजनामा छिन् । निर्मलाले अल्ट्रा रेस दौडन थालेको धेरै समय भएको छैन । तर छोटो समयको अथक प्र्रयासमा उनले कैयौँ दौड जितेकी छन् । यस क्षेत्रमा लाग्नुको श्रेय भने उनी अन्तर्राष्ट्रिय धाविका प्रिया राईलाई दिन्छिन् । प्रियाले नै आफूलाई दौडनका लागि जहिल्यै हौसाएको उनको भनाइ छ । गाउँबाट काठमाडौँ आएकी उनी दौडामा लाग्नुअघि जीविकोपार्जनका लागि कहिले मार्केटिङ त कहिले सुरक्षागार्डको पनि काम गरिन् । विभिन्न पसल चाहर्दै फाइनान्सका लागि पैसा उठाउनेदेखि होटेलमा भाँडासमेत माझिन । निर्मलाले पहिलोपटक नुवाकोटको झिल्टुङ क्रस कन्ट्री दौडमा भाग लिइकी थिइने । बाह्र दशमलव पाँच किलोमिटर दौडमा उनी चौथो भएकी थिइन् । उनी आफूलाई पहिलो सहभागिताबाटै अपेक्षाकृत सफलता मिलेपछि थप हौसला मिलेको हो भन्छिन् । उक्त दौडपछि प्रियाले विभिन्न प्रतियोगितामा भाग लिन थालिन् । वीर गणेशमान दौड प्रतियोगितामा शीर्ष दशमा परेपछि उनको तारिफ भयो । निर्मलाले गत वर्ष अप्रिलमा एक सय ३० किलोमिटरको मनास्लु ट्रेलमा सहभागी भइन् तेस्रो भइकी थिइन् । धावकका लागि मुख्य सहयोगी जुत्ता नै हो । जति राम्रो जुत्ता भयो दौडनका लागि त्यति नै सहज हुन्छ । धावनका लागि जुत्ता किन्न निकै महँगो हुने गरेको उनको भनाइ छ । त्यसैले विदेशी प्रायोजक भएका प्रतियोगितामा दौडन सहज हुने उनले सुनाइन् । दौडलाई निरन्तरता दिनका लागि पनि राम्रो प्रायोजकको साथ आवश्यक भएको उनको बुझाइ छ ।
अनिता राई,भोजपुर
भोजपुर षडानन्द नगरपालिकाकी अनिता राईलाई सुरुमा मानिस किन दौडिन्छन् भन्ने थाहै थिएन । पोखरामा पर्यटक पथप्रदर्शकका रुपमा कार्यरत रहँदा कहिलेकाहीँ धावकहरु भेटिन्थे । तर उनलाई यी धावकहरुको यो दौडाइको उद्देश्य बुझ्दिनथिन् । तर सन् २०११ मा अरु कसैले उक्साएकै भरमा दौडने योजना बनाइन् । उनी आफ्नो पहिलो प्रतियोगिताको अघिल्लो दिन आयोजकको सम्पर्कमा आइकी थिइन् । आयोजकले दौडनुपर्छ मात्रै भनिदिए । भोलिपल्ट दौड सुरु हुने ठाउँमा पुगिन् । अरु धावकले सोहीअनुसारको पोशाक र जुत्ता लगाए पनि उनी भने सामान्य टिसर्ट, हाफ पाइन्ट र चप्पलमै पुगिन् । रातको समय पनि दौडनका लागि लाइट हुनुपर्ने भए पनि उनीसँग केही थिएन । थियो त केबल शक्ति र आत्मबल । उनी ५० किमीको उक्त दौडमा तेस्रो भइन् । पुरस्कारस्वरुप पाँच हजार पाइन् । आफू कार्यरत अफिसबाट पनि सम्मान पाएपछि भने दौडको महत्व बुझ्न थालिन् । उनले त्यसपछिका प्रायः दौडमा भाग थालिन् । केही दौडमा विजयी पनि भइन् । उनी सन् २०२१ मा दौड प्रशिक्षणका लागि काठमाडौँ आइन् । नौ महिना प्रशिक्षण लिएर मञ्जुश्री ट्रेल रेसमा सहभागी भइन् । उक्त दौडमा उनी दुई पटकसम्म एक सय माइलको महिलातर्फ पहिलो र तेस्रो पटक दोस्रो भइन् । मञ्जुश्री ट्रेल रेसमा दुई पटकसम्म प्रथम हुँदा उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाइन् । दौडकै सिलसिलामा स्वीजरल्याण्ड, थाइल्याण्ड, फ्रान्सलगायतका मुलुक पुगिन् । अहिले उनी आफ्नो दौडलाई निरन्रतता दिँदै अरुलाई प्रशिक्षण पनि दिँदै आएकी छन्् ।
आङ फुर्बा शेर्पा, सोलुखुम्बु
सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकामा जन्मिएकी आङ फुर्बा शेर्पा स्नातक अध्ययन गरिरहेकी छन् । विद्यालयमा छँदै दौड प्रतियोगितामा भागि लिएकी उनले अहिले पनि दौडलाई निरन्तरता दिएकी छन् । उनले साढे दुई वर्षअघि दाईको सुझावमा एभरेष्ट ट्रेलमा भाग लिइन् । त्यसपछि २५ किमीको दौडमा उनले दुई वर्षसम्म लगातार उपाधि जितिन् । शेर्पा गत वर्षको एभरेष्ट म्याराथनमा विजेता बनिन् । बेसक्याम्पदेखि नाम्चेसम्मको ७० किमी दौडको महिला धावकमा उनी उत्कृष्ट ठहरिन् । त्यति मात्रै होइन, उनले आर्मी र पुरुषहरुसँगको दौडसमेत भाग लिएकी छन् । जहाँ उनले दुवैतर्फमा १०औँ स्थानमा परेकी थिइन् । सोलुखुम्बुमै रहँदा उनी आमाबुबासँगै चौँरी चराउन जान्थिन् । विद्यालय जान मात्रै दुई घण्टा लाग्थ्यो । उनी भन्छिन्, “सायद त्यही बेलादेखि नै दौडने बानी परेको थियो । उकाली ओराली गर्दा दौडने बानी परेको हुनसक्छ ।” विगतमा भलिबल, फुटबललगायतका खेलमा सक्रिय उनी अहिले आफूलाई दौडमा मात्रै सीमित गरेकी छन् । उनी हालै सम्पन्न मञ्जुश्री ट्रेल रेसमा पहिलो पटक सहभागी हुँदै एक सय माइलतर्फ तेस्रो भइन् । उनी अब दौडको प्रशिक्षण पनि लिने योजनामा छिन् । त्यसपछि अन्तर्राष्ट्रिय दौडमा भाग लिने सपना पनि देखेकी छन् ।
पदमकुमारी सुनुवार,ओखलढुङ्गा
ओखलढुङ्गाकी पदमकुमारी सुनुवारलाई सामान्य दौड प्रतियोगितामा भाग लिए पनि ट्रेल रेसबारे जानकारी नै थिएन । दौडमा रुचि राख्ने उनले अन्तर्राष्ट्रि«य धाविका मिरा राईलगायतको नाम भने सुनेकी थिएन् । उनले सन् २०२१ उनले आफूले देखेको सपना पूरा गर्ने अवसर पाइन् । गाउँमै सम्पन्न ४२ किमी दूरीको दौडमा भाग लिएकी उनी पाँचौँ भइन् । सो प्रतियोगिताको अतिथिमा मिरा राईलगायत खेलाडी थिए । सुनुवारले देखाएको उत्कृष्ट प्रदर्शनपछि उनीहरुले नै प्रशिक्षणको अवसर दिएका थिए । प्रशिक्षणका लागि सुनुवार काठमाडौँ आइन् । केही समय प्रशिक्षण लिएपछि दौडलाई निरन्तरता दिइन् । उनले हालै सम्पन्न मञ्जुश्री ट्रेलको एक सय किमीको दौड २३ घण्टा ५६ मिनेट २२ सेकेण्डमा पूरा गरी महिलातर्फ प्रथम भइन् । उक्त प्रतियोगितामा भाग लिने रहर पूरा भएकामा उनी निकै खुसी देखिन्थिन् । पछिल्लो समय उनी काठमाडौँमै रहेर दौडलाई निरन्तर अगाडि बढाएकी छन् । हालै मात्र पनि उनले २८ दिनमा नौ सय किलोमिटर दौडिइन् । जसमा उनी महिला तथा पुरुष दुवैमा पहिलो भइन् । अन्तर्राष्ट्रिय मुलुकमा समेत दौडिसकेकी उनले आगामी दिनमा पनि दौडलाई नै अगाडि बढाउने योजनामा छिन् ।
