JanaKura

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

काठमाडौँ, ३१ असार : कोपा अमेरिका फुटबल कपको उपाधि अर्जेन्टिनाले जितेको छ ।अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको यो १६ औं पटक हो । योसँगै कोलम्बियाको फेरि च्याम्पियन बन्ने सपना अधुरै रह्यो । पछिल्लो पटक कोलम्बियाले सन् २००१ मा फाइनल खेलेको थियो र त्यसको आयोजना गर्दा कोपा अमेरिकाको उपाधि जितेको थियो। फाइनल खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १–० ले हराएको थियो । अतिरिक्त समयमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए । कोलम्बियासँगको उपाधिको खेल निर्धारित समयसम्म ०–० गोलको बराबरीमा रहेको थियो जहाँ पहिलो अतिरिक्त हाफमा पनि टोलीले गोल गर्न नसकेपनि ११२ औं मिनेटमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरेका थिए ।

यसअघि सन् २०२१ मा अर्जेन्टिनाले उपाधि खेलमा ब्राजिललाई हराएको थियो ।हाफ टाइमसम्म दुवै टोलीले गोल गर्न सकेनन् कोपा अमेरिका २०२४ को फाइनल खेलको हाफ टाइमसम्म दुवै टोलीको स्कोर ०-० को बराबरीमा रह्यो।अर्जेन्टिना र कोलम्बियाले धेरै अवसर पाएपनि दुबै टोलीले सो अवसरको सदुपयोग गर्न सकेनन् । खेलको ३६औं मिनेटमा अर्जेन्टिनाका लियोनल मेस्सी घाइते भएपछि खेल फेरि २ मिनेटका लागि रोकिएको थियो । ६४औं मिनेटमा मेस्सी फेरि घाइते भए र मैदानमा पीडाले सुस्केरा हालेको देखिए र त्यसपछि नचाहँदा पनि टिम छोडेर मैदान छाड्नुपर्‍यो । उनको स्थानमा निकोलस गोन्जालेज विकल्पका रूपमा आएका थिए । मेस्सी घाइते भएर मैदानबाहिर गए पनि दुवै टोलीले गोल गर्न सकेनन् । यसैबीच, यस्तो अत्यावश्यक समयमा मैदान छाड्दा मेस्सी पीडाले रोएको देखियो ।

 
Exit mobile version