काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले हिजो राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको हो ।मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ कायम भएको छ । डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५१ रुपैयाँ ५० पैसा, एक सय ५३ रुपैयाँ र एक सय ५४ रुपैयाँ पुगेको छ । इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ । आइओसीले आज पेट्रोलको मूल्यमा प्रतिलिटर छ रुपैयाँ ७५ पैसा र डिजेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ नौ पैसाले घटाएर नयाँ बिक्री मूल्य पठाएको निगमले जनाएको छ ।