अक्षलोक साहित्यिक प्रकाशन, प्रा. सिद्धिश्वर मान श्रेष्ठ र लुम्बिनी बौद्ध विश्वविद्यालय
– कुमार रञ्जित
काठमाडौँ, १२ चैत :/यसपटक एउटा भिन्नै सांस्कृतिक “काव्य उत्प्रेरणा उत्सव यात्रा” मा सहभागी भएर फर्किएपछि त्यसको वर्णन गर्दैछु। पञ्चायती व्यवस्थाकालदेखि प्रगतिशील साहित्यिक धारामा निरन्तर योगदान गर्दै बौद्धिक तथा साहित्यिक वृत्तमा लोकप्रिय रहँदै आएको “अक्षलोक” प्रकाशनद्वारा आफ्ना प्रधान सम्पादक प्रा. सिद्धिश्वरमान श्रेष्ठको २०७८ साल जेष्ठ २७ गते असामयिक दुःखद् निधनपछि शोकको परिस्थितिमा गठन गरिएको “सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र” बाट आयोजना गरिएको चारदिने यात्रामा सहभागी हुन मलाई त्यसका संरक्षक डा. सावित्री श्रेष्ठले आमन्त्रण गर्नु हुदा जसरी पनि समय निकाल्नैपर्ने परिस्थितिमा पुग्नुमा विभिन्न कारणहरु थिए। “अक्षलोक” सित मेरो सम्बन्ध पञ्चायती व्यवस्थाकालमै ०४४ सालमा भएको हो। त्यतिबेला मैले विद्यालय शिक्षा पूरा गरेर कलेज शिक्षातिर मात्रै होइन, राजनीतिक चेतनासहितको साहित्यिक यात्रा थालेको थिएँ। प्रगतिशील चेतनावाहक पत्र–पत्रिका र पुस्तकहरुको खोजी गर्दै पढ्ने र आफूमा उम्लिएका चेतनाका शब्दहरु पोख्ने काम मैले नेपालभाषा र नेपाली दुबैबाट सँगसँगै थालेँ। पढ्दै आफ्नो आधारभूत आवश्यकता पनि पूरा गर्न प्रेससम्बन्धी प्राविधिक काम पनि गर्थेँ। त्यस्तोमा मेरा अधिकांश समय तात्कालिन पञ्चायती व्यवस्था विरोधी विचार प्रवाह गर्दै आएका पत्र–पत्रिका छापिने प्रेसहरुमा बित्दथ्यो।
त्यसै क्रममा काठमाडौँको थाय्मरुस्थित “इनाप” हुँदै “अक्षलोक” साथै तात्कालिन केही चर्चित साप्ताहिक पत्रिकाहरु समेत छापिने प्यंगःथां (बांगेमुढा) मा सञ्चालित मित्र छापाखानामा संलग्न हुनपुगेँ। त्यस बखत मित्र छापाखानामा बौद्धिक व्यक्तित्व तथा प्राज्ञिक अनुसन्धाताहरुका पुस्तक पनि छापिन्थ्यो। प्रा. डा. पेशल दाहालको पुस्तकको काम पूरा गरिदिएपछि उहाँले आफ्नो पुस्तकको भूमिकामै मेरो नाम पनि उल्लेख गर्नुभएको सम्झिन्छु। मेरो जीवनमै कुनै बुद्धिजीवीले आफ्नो भूमिकामै नाम उल्लेख गरिदिएको त्यो नै पहिलो थियो। देशमा पञ्चायती व्यवस्था ढलेर संवैधानिक राजतन्त्रसहितको बहुदलिय प्रजातान्त्रिक व्यवस्था आयो। ०४८ साल पौषदेखि मैले चिर स्मरणीय अशोक श्रेष्ठको सम्पादकत्वमा नेपालभाषाबाट प्रकाशन भएको “न्हूगु विश्वभूमि” सन्ध्याकालिन दैनिकमार्फत् पत्रकारितामै पूर्णकालिन भएर काम थालेँ। ०५२ मा “कामना प्रकाशन गृह” बाट प्रकाशन थालिएको “आजको समाचारपत्र” राष्ट्रिय दैनिक, ०५८ मा “राजधानी” राष्ट्रिय दैनिक लगायत विभिन्न साप्ताहिक पत्रिकाहरुमा काम गर्दै ०५९ मा “रेडियो नेपाल” को समाचार शाखामा पनि पुगेर काम गरेँ। “रेडियो नेपाल” मा छँदै लुम्बिनी विकास कोषबाट दोस्रो विश्व बौद्ध सम्मेलन र त्यसपछि बुद्ध जन्मस्थलमा अवस्थित मायादेवी मन्दिरको समुद्घाटन कार्यक्रम आयोजना गरिएको थियो। त्यस अन्तर्राष्ट्रिय सम्मेलन र समुद्घाटन कार्यक्रमको प्रचार–प्रसार उप–समितिमा रहेर “रेडियो नेपाल” बाट प्रत्यक्ष प्रशारण गरेको टोलीमा समेत संलग्न भएर काम गरेको अविस्मरणीय छ।
यसबीच देशमा नेकपा (माओवादी) द्वारा सञ्चालित “जनयुद्ध” साथै ०६२–६३ सालको दोस्रो जनआन्दोलन पनि १२ बुँदे सम्झौतामा पुगेर टुंगिएपछि २ सय ५० वर्ष पुरानो शाहवंशीय राजतन्त्र अन्त्य साथै संघीय लोकतान्त्रिक व्यवस्थाको घोषणा भयो। त्यसपछिका दिनमा विभिन्न पत्र–पत्रिका र अभियानहरु हुँदै ०७१ सालको मंसिरदेखि कम्युनिकेशन कर्नरद्वारा सञ्चालित “उज्यालो रेडियो नेटवर्क” मा काम गर्न पुगेँ। त्यसैताकादेखि “अक्षलोक” का सम्पादक डा. सावित्री श्रेष्ठ र प्रधान सम्पादक प्रा. सिद्धिश्वर मान श्रेष्ठहरुकासाथ प्रत्यक्ष सम्बन्ध स्थापित भयो। सावित्री दिदी हाम्रै टोल–छिमेक ज्याबहालका शिक्षित परिवारका चेली साथै पाटन संयुक्त क्याम्पसमा प्राध्यापन गर्नुहुन्थ्यो। सिद्धिश्वर सर लुम्बिनी बौद्ध विश्वविद्यालयमा परीक्षा प्रमुखका रुपमा प्राज्ञिक उन्नयन कार्यमा समर्पित हुनुहुन्थ्यो। मेरी जीवनसंगिनी डा. जुनु बासुकला रञ्जितकार पाटन संयुक्त क्याम्पसमै इतिहास तथा बौद्ध अध्ययन विभाग अन्तर्गत प्राध्यापन सेवामै रहेको उहाँहरु दुबैमा जानकारी थियो। म “उज्यालो रेडियो” बाट नेपालभाषाबाट प्रशारण हुने “लहना” कार्यक्रममा सिल्भिया राजोपाध्यायकासाथ दैनिक समाचार साथै विभिन्न विषय विज्ञहरुका अन्तर्वार्ता पनि गर्थेँ। त्यसरी विषयगत साथै कार्यगत रुपमै पनि हाम्रो आत्मीय निकटता रहन पुग्यो।
यसैबीच संसारभरी नै कोभिद–१९ कोरोना भाइरसको महामारी व्याप्त भयो। सिद्धिश्वर सर त्यस भाइरसबाट संक्रमित भएर अस्पताल भर्ती हुनुभएको समाचार निरन्तर आइरह्यो । चिन्ता र सहानुभूति व्याप्त भइरहेको अवस्थाकाबीच सावित्री दिदीमाथि बज्रप्रहार गर्दै प्रा. सिद्धिश्वरमान श्रेष्ठ सर कीर्तिशेष हुनुभएको मार्मिक जानकारी आयो। सोही शोकका बीचबाट “सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र” को जन्म भएको जानकारी हामी शुभ–चिन्तकहरुले पायौँ। त्यसै केन्द्रको आयोजनामा २०७९ आषाढ ३२ गतेका दिन राष्ट्रिय नाचघरमा नेपाली साहित्यका चार ज्येष्ठ महिला साहित्यकारहरु क्रमशः माया ठकुरी, पद्मावती सिंह, भागिरथी श्रेष्ठ र जलेश्वरी श्रेष्ठहरुलाई “नेपाली साहित्यको आमा खम्बा” उपाधी साथै अन्य सम्मान र पु्रस्कारहरु प्रदान गर्दै भव्य कार्यक्रमको आयोजना गरियो। त्यसको भोलिपल्टै मैले डा. सावित्री श्रेष्ठ दिदीलाई रेडियो कार्यक्रममा अन्तर्वार्ताका लागि पाहुनाका रुपमा निम्त्याएँ। त्यसक्रममा उहाँले अश्रुपूर्ण घटना विवरणहरु, शोकको अवस्था साथै दृढतापूर्ण भविष्यका योजनाबारे व्यक्त गर्नुभएका अभिव्यक्तिहरु संसारभरी छरिएका स्रोताहरुले सुनेर विभिन्न प्रतिक्रिया व्यक्त गर्नुभयो। त्यसलाई लिएर बागमती प्रदेशका सभासद् (पछि मन्त्री) रामकृष्ण चित्रकार साथै किशोर वन्त, किरण खड्गी नेवाः, अमर तुलाधर, गौतम बज्राचार्य, ताराचन्द्र देवकोटा, रुपक राजोपाध्याय लगायतले प्रतिक्रिया तथा विभिन्न जिज्ञासाहरु व्यक्त गर्नुभएको रेकर्ड छ।
त्यसको एक वर्षपछि डा. सावित्री श्रेष्ठसित उहाँले विद्यावारिधीका लागि छनोट गर्नुभएको विषय “नेवाः समाजमा पोडे महिलाहरुको सामाजिक तथा आर्थिक अवस्था” बारेमा गहन छलफल गर्न पाहुनाका रुपमा रेडियो कार्यक्रममा पाहुना बनाएर आमन्त्रण गरेँ। त्यस क्रममा उहाँले दिनुभएका महत्वपूर्ण सूचना र गम्भीर प्रकृतिका विचारबाट प्रभावित भएर संयुक्त राज्य अमेरिकामा बसोबास गरिरहनुभएका नेपालभाषाका कथाकार केशरमान ताम्राकार, प्रसिद्ध फोटोग्राफर मिन बज्राचार्य, संस्कृतिका अध्येता तथा अधिवक्ता राजाराम श्रेष्ठ, व्यवसायी विपिन शिल्पकार साथै सम्बन्धित समुदायका अगुवाहरु प्रकाश द्यःला र किरण खड्गीहरुले प्रतिक्रिया तथा जिज्ञासा राख्नुभएको थियो। त्यसका अलावा सम्बन्धित द्यःला समाजका अगुवाहरुले त मसित सावित्री दिदीको मोबाइल नम्बर नै लिएर भेट्ने अभिलाषा राखेका थिए। सावित्री दिदीको उक्त अन्तर्वार्ता नेवाः समाजमा जागृतिको एउटा नमूना नै भएको द्यःला समाजका महासचिव बाबुराजा द्योलाले बताउनुभएको भयो। यसै क्रममा ०८० को श्रावण ६ गते मेरा लागि महत्वपूर्ण मध्ये एक अविस्मरणीय दिन बन्न पुग्यो। ३६ वर्षअघि नै आफूसित श्रमको सम्बन्ध कायम भएको र त्यसपछिका दिनमा पनि विभिन्न प्रकारबाट सम्बन्ध रहँदै आएको “सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र” द्वारा राष्ट्रिय नाचघरमा आयोजित एक भव्य कार्यक्रमबीच मलाई “नेपाली सञ्चार र नेपालभाषाको उत्थानमा अविरल रुपमा सक्रिय रही उत्कृष्ट योगदान गरेको” उल्लेख गर्दै सम्मान–पत्र र मेडल सहित “सिद्धिश्वरमान उत्कृष्ट सञ्चार साधक सम्मान” प्रदान गरेर कृतज्ञ बनायो।
त्यस कार्यक्रम अवधिभरी मेरो मस्तिष्कमा “अक्षलोक” छापिने गरेको “मित्र छापाखाना” र त्यहाँ भेटिएका हरिमान दाई साथै अन्य नामै बिर्सिसकेका थुप्रै मित्रहरुका स्मृति–दृश्यहरु मस्तिष्कमा घुमिरह्यो। उक्त सम्मानका प्रतीकहरुलाई मेरो कार्यकक्षमा स–सम्मान सजाएर राखेको छु। त्यसको आठ महिनापछि डा. सावित्री दिदीले “काव्य उत्प्रेरणा उत्सव यात्रा” मा सहभागी भएर पाल्पाको तानसेन, बुद्ध जन्मभूमि लुम्बिनी साथै अन्य थुप्रै ठाउँको यात्रा गर्न निम्तो दिनुभएपछि तीन रात र चार दिनको यात्रामा विभिन्न क्षेत्रको प्रतिनिधित्व रहेको हाम्रो २८ जनाको समूहले निश्चित उद्देश्यकासाथ २०८० चैत्र ८ गते बिहान सखारै काठमाडौँ छाड्यौँ। सबैभन्दा पहिले हाम्रो यात्राको बिसौनी काठमाडौँको छिमेकी जिल्ला धादिङको त्रिशूली नदी किनारमा बैरेनीस्थित अम्लेश्वर महादेवस्थल रहेको स्थानमा भयो। त्यहाँ चियापानपछि हाम्रो समूह तनहुँ र चितवनको सीमानामा रहेको प्रसिद्ध तीर्थस्थल देवघाटमा पुग्यो। त्यहाँ पैदलयात्रापछि खाना खाएर यात्रा पाल्पातर्फ सोझियो। बेलुकी अबेर पाल्पा पुगेर खाना खाएर सुत्यौँ। भोलिपल्ट ९ गते बिहानै चियापानपछि हामी पाल्पाको तानसेनबाट १३ किलोमिटर उत्तरतर्फ कालिगण्डकी नदीको तिरमा १ सय २६ वर्षअघि खड्ग शमशेरले आफ्नी रानी तेज कुमारीको स्मृतिमा चार वर्ष लगाएर निर्माण पूरा गराएको “रानी महल” मा पुग्यौँ। राणा शासकहरुबीच आन्तरिक कलहपछि राजधानीबाट टाढा पु¥याइएका खड्गले शिकारका क्रममा लुम्बिनीको जंगलमा भग्नावशेषसहित हराइरहेको मायादेवी मन्दिर र अशोक स्तम्भ उत्खनन्मा महत्वपूर्ण प्रारम्भिक योगदान पु¥याएको इतिहासमा उल्लेख छ। कालिगण्डकी नदी उत्तरबाहिनी भएर बगिरहेको तिरमा बनाइएको महल वास्तवमै आकर्षक देखिन्थ्यो। त्यहाँबाट हामी तानसेन नगरपालिकाको सभागृहमा पुग्यौँ।
त्यहाँ नगर प्रमुख सन्तोष लाल श्रेष्ठबाट स्वागतपछि उहाँकै प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा “सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र” का आजीवन सदस्यहरुलाई प्रमाण–पत्र प्रदान गरियो। त्यसरी ३६ वर्ष पुरानो सम्बन्धलाई आजीवन सदस्यताको प्रमाण–पत्रमार्फत् औपचारिकता प्रदान गरियो। कार्यक्रममा प्रमुख श्रेष्ठ र तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसकी उप–प्राध्यापक अर्चना शाक्यबाट पाल्पा र तानसेनको इतिहास र वर्तमानबारे विस्तृतमा जानकारी प्राप्त भयो। त्यसैगरी कार्यक्रममा “अक्षलोक” को ६६ औँ अङ्क, प्रा. महेश्वरमान श्रेष्ठ स्मृति अङ्क र उहाँको “स्मृतिका पानाहरु” (कविता र गीत सङ्ग्रह) पुस्तक लोकार्पण साथै आदान–प्रदान पनि गरियो। कार्यक्रममा यात्रा टोलीमा संलग्न नेपाली साहित्यकी आमा खम्बा पद्मावती सिंह, प्राज्ञ लक्ष्मी माली, प्रा. डा. इला श्रेष्ठ, प्रा. डा. गोविन्द मान सिंह कार्की, जनवादी संस्कृतिकर्मी माधव प्रधान, पवित्रा अधिकारी, राजन न्यौपाने, सरस्वती गौतम साथै पाल्पा साहित्य समाजका अध्यक्ष उपेन्द्र राज रेग्मीले पनि रचना तथा मन्तव्य व्यक्त गर्नुभएको थियो। तानसेनमा हाम्रो टोलीबाट त्यहाँका विभिन्न सांस्कृतिक सम्पदाहरुको निरिक्षण भ्रमण भयो। भ्रमणका क्रममा पाल्पा साहित्य समाजका सदस्य राजेन्द्र गोपाल सिंहबाट नेपाली सेनाका बहादुर कर्णेल रण उजिर सिंह थापाको वीरगाथा र उनीद्वारा स्थापित स्थानीय रण उजिरेश्वरी भगवती साथै जात्राबारे महत्वपूर्ण जानकारी प्राप्त भयो। राजेन्द्रजी काठमाडौँको ग्वंगःबुँमा अर्का साहित्यकार मित्र रत्न प्रसाद अनामणीको साहित्यिक भेटघाटस्थलमा परिचय भएका मेरा साहित्यप्रेमी आत्मिय हुनुहुन्छ। तानसेनवासी साहित्यमा अत्यन्तै अभिरुची राख्ने पुस्तक संकलक पनि रहेका राजेन्द्रजीले नै मलाई ०४० सालमा प्रकाशित “अक्षलोक” को कार्ल माक्र्स विशेषाङ्कको स्वरुप उपलब्ध गराउनुभएको हो। त्यसैगरी तानसेनमा नेपालभाषाकी उपन्यासकार समेत रहेकी उप–प्राध्यापक अर्चना शाक्यबाट उहाँको कृति “ख्वबि व लाय्लामा” प्राप्त भयो। पाल्पाबाट प्रस्थान गरेर हाम्रो टोली साँझ लुम्बिनी पुग्यौँ।
त्यसै साँझ केही मित्रराष्ट्रहरुको कला र संस्कृति प्रतिनिधित्व रहेको वास्तु संरचनाहरुको निरिक्षणपछि लुम्बिनी बगैँचास्थित बुद्ध जन्मस्थल मायादेवी मन्दिरको भित्री संरचना, अशोक स्तम्भ साथै पवित्र पोखरीको पनि दर्शन ग¥यौँ। त्यो लुम्बिनीसित जोडिएको मेरो जीवनको २२ वर्ष लामो सम्बन्धमा पुनर्ताजगी हुन पुग्यो। भोलिपल्ट १० गते बिहानै पुनः हाम्रो टोली लुम्बिनीको विश्व शान्ति स्तूप साथै अन्य मित्रराष्ट्रहरुका वास्तु संरचनाहरुको दर्शन गर्न पुग्यौँ। लुम्बिनी परिक्रमा गरुञ्जेल मलाई त्रिविविको बौद्ध अध्ययन विभागले ०५८ सालमा गराएको भ्रमण टोली, अन्तर्राष्ट्रिय सम्मेलन हुँदा हाम्रो प्रचार–प्रसार उप–समितिका संयोजक नविन चित्रकार र मन्दिर समुद्घाटन हुँदा लुम्बिनी विकास कोषका सदस्य–सचिव रहनुभएका गोविन्द चित्रकारसित गरेको सहकार्यको सम्झना भइरह्यो। विश्व शान्ति स्तूपबाट हाम्रो समूह लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा पुग्यो। त्यहाँ हामीलाई विश्वविद्यालयका डीन डा. हरिशरण चखुंले स्वागत गर्नुहुँदै प्रा. सिद्धिश्वर मान श्रेष्ठले परिक्षा नियन्त्रकका रुपमा पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभयो। कार्यक्रममा “सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र” का तर्फबाट ज्ञापन–पत्र हस्तान्तरण गर्दै उहाँको सप्रेम उत्प्रेरक सम्मानमा उहाँको प्यारो कार्यक्षेत्र लुम्बिनी विश्वविद्यालयको परीक्षा केन्द्रलाई “सिद्धिश्वरमान परीक्षा केन्द्र” का रुपमा परिणत गरी परीक्षा प्रणालीलाई ओजपूर्ण समेत गरिँदै लान प्रेरणा मिलोस् भन्ने ध्ययेसहित शुभेच्छा व्यक्त गरिएको छ। कार्यक्रममा टोलीका सदस्यहरुले आफ्ना रचना वाचन गर्नुभएको थियो।
यात्रा समूह त्यसै दिन लुम्बिनीबाट फर्केर नवलपरासीको बर्दघाटको बासस्थानमा पुग्दा दोस्रो संविधानसभा सदस्य तथा प्रगतिशील गायिका सिन्धु जलसाकासाथ परिचयात्मक भेटघाट र अन्तरकृया कार्यक्रम सम्पन्न भयो। त्यसै क्रममा उहाँले आफू अहिले नेपाली युवालाई स्वदेशमै सम्भावनाको खोजी गर्ने क्षमताको विकास गर्न विद्यालय सञ्चालनका लागि तयारी गरिरहेको जानकारी गराउनुभयो।त्यसको भोलीपल्ट यात्राको चौथो दिन ११ गते बर्दघाटबाट फर्कने क्रममा नवलपारासी (बर्दघाट सुस्ता पूर्व) को वडा नम्बर ६ त्रिवेणी धाम र त्यसको केही पर श्री गजेन्द्र नारायण मोक्ष मन्दिरको दर्शन साथै विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ स्थित गण्डक ब्यारेजमा छिमेकी भारतद्वारा बनाइएको बाँध र नहरको अवलोकन र आपसमा चर्चा ग¥यौँ। त्यहाँबाट टोली केबुल कार चढेर कामाख्या मन्दिर हुँदै धादिङको इच्छा मनकामना पुगेर प्रसिद्ध नियात्राकार घनश्याम राजकर्णिकारका दुई नयाँ कृतिहरु “कृष्ण पाउरोटी र कृष्ण बहादुर राजकर्णिकार” साथै “सम्झनामा मेरा पुर्खा” को सामुहिक विमोचन गरियो। सिद्धि कुमार महर्जनको नेतृत्वमा रहेको यात्रा व्यवस्थापन टोलीले कुशल व्यवस्थापन गरेको यात्रा सम्पूर्ण यात्रीहरुका लागि अविस्मरणीय रह्यो।