काठमाडौँ, १८ फागुन : काठमाडौँको टोखा नगरपालिकामा ‘कपडा बैङ्क’को शुभारम्भ गरिएको छ । नगरपालिकाको सहयोगमा क्लोथ एन्ड फुड बैङ्क नेपालको सहकार्यमा आज ‘कपडा बैङ्क’को शुभारम्भ गरिएको हो । नगर प्रमुख प्रकाश अधिकारीले देशभरबाट प्रयोगमा नआएका कपडा सङ्कलन गरेर पुनःचक्रण गरी विपन्न तथा गरिब मानिसमाझ पु¥याउने उद्देश्यका साथ अभियान सुरु गरिएको बताउनुभयो । “गरिब तथा असहाय जसले कपडा किन्न सक्दैनन्, त्यस्ता मानिसलाई ‘रिसाइकल’ गरी कपडा उपलब्ध गराउनका लागि कामको थालनी गरेका छौँ”, उहाँले भन्नुभयो । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले समाजमा आर्थिक रुपमा विपन्न भएका मानिसलाई उक्त अभियानले सहयोग पुग्ने बताउनुभयो । “यो नेपालमा मात्र होइन विश्वभर यस्ता प्रयोग हुँदै आएका छन्, जसको आयआर्जन कम छ, त्यस्ता व्यक्तिले यहाँ आएर कपडा लैजान सक्नुहुन्छ”, उहाँले भन्नुभयो ।
नगर उपप्रमुख मुरारी तामाङले क्लोथ एन्ड फुड बैङ्कले गरेको कार्यको प्रशंसा गर्दै नगरपालिकाबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले प्रयोग नभएका कपडालाई रिसाइकलिङ गरी गुणस्तरीय कपडा उत्पादन गरी गरिब, दुःखीलाई निःशुल्क बाँड्ने अभियानमा नगरपालिकाले सहयोग गर्ने उल्लेख गर्नुभयो । क्लोथ एन्ड फुड बैङ्कका प्रमुख कमल बिसीले पुरानो कपडा पुनः प्रयोग, आवश्यक पर्ने हामी सबैका लागि भन्ने सन्देश प्रवाह गर्न उक्त कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा टोखा नगरपालिकाका प्रवक्ता बच्चु राज बस्याल, विभिन्न वडाका – अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरु,कर्मचारीहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको क्लोथ बैन्क शुभारम्भ अभियान कार्यक्रमको समुद्घघाटन गरिएको थियो ।