JanaKura

मछिन्द्रनाथको महास्नानको जलाभिषेक

नविना श्रेष्ठ ,माघ ५,२०८०/ काठमाडौँ महानगरपालिकाको २५ वडा कार्यालय जनबाहाल केलटोलमा रहेको करुणामय सेतो मच्छिन्द्रनाथको हिजो श्री कुमारीबाट दर्शन पश्चात् महास्नान गरि श्रद्धालुहरुलाई जल दिने गरिन्छ । मछिन्द्रनाथको महास्नानको समयमा पहिलो पटक जलाभिषेक गर्दा यदि जल देवताको दायाँ बगेमा माथिल्लो भेग तथा बायाँ बगेमा तल्लो भेगका किसानहरुले सबैभन्दा पहिला धान रोपाइँ गर्न पाउने जनविश्वास रहँदै आएको छ। हाल, काठमाडौमा खेतहरु मासिएसँगै यो कुराको जानकारी थोरै सँग रहेको छ, तापनी ज्येष्ठ नागरिकहरुलाई सोधे अझै पनि उहाँहरुले यी कुरा बताउनुहुन्छ ।

न्हवं यायेगु सक्किएपछी सेतो मछिन्द्रनाथको मुर्तिलाई सेतो कपडाले छोपेर लगिन्छ र अर्कै स्थानमा राखिन्छ र रंगरोगन तथा मर्मत गर्ने कार्य गरिन्छ । त्यस अविधिभर देवताको अपमान नहोस भनी उनको प्राणलाई तन्त्रविधी अनुसार अर्चना गरि एउटा पवित्र कलशमा सारिन्छ र सो कलशलाई मन्दिरमा राखिन्छ । कलशलाई ब्रम्हकलश भनि सम्बोधन गरिन्छ। सम्पूर्ण रंगरोगनपछि मिला पुन्ही (पौष पूर्णिमा) अर्थात् स्वस्थानी व्रत आरम्भ हुने पूर्णिमाको रातमा सेतो मछिन्द्रनाथको मुर्तिलाई मन्दिरको मूल ढोका अगाडि राखी दशकर्म गर्ने गरिन्छ। हामी साधारण मानिसको जस्तै सेतो मछिन्द्रनाथको पनि जन्म, अन्नप्राशन, व्रतबन्ध, विवाह आदि सम्पूर्ण कर्महरु गर्ने गर्छ। सेतो मछिन्द्रनाथ पुरुष र नारी दुबैको प्रतीक भएकोले नेवार संस्कार अनुसार नारीलाई गरिने इहि (बेल विवाह), बाह्रा आदि पनि गर्ने गर्दछन्।

दशकर्म विधि सक्किएपछी मछिन्द्रनाथको मुर्तिलाई पुनः मन्दिरमा स्थापना गरिन्छ। हिजो जस्तै जलाभिषेक र दशकर्म विधि गरि मन्दिरमा स्थापना गरिएका सेतो मछिन्द्रनाथलाई फेरि चैत्र कृष्ण अष्टमीको दिन निकाली जमल स्थित रथमा राखी ३ दिन भव्य रथ जात्रा गरिदैं आएको छ। उपत्यकामा रहेको करुणामयहरु मध्ये एक मानिने श्री सेतो मछिन्द्रनाथलाई पितृहरुको उद्धार गर्ने देवता तथा सुख शान्ती र रोगव्याधी निको पार्ने देवताको रुपमा पूज्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथको मन्दिरमा बर्षको दुइ पटक आमाको मुख हेर्ने दिनमा र बुबाको मुख हेर्ने दिनमा ठूलो भिड लाग्ने गर्दछ। मातातीर्थ औंसीको दिन र कुशेऔँसीमा गोकर्णेश्वर महादेव, मातातीर्थ जान नसकेका कयौं मानिसहरुलाई सहजका लागि मछिन्द्र क्लबको आयोजनामा मछिन्द्र क्र्यूका रोभर रेञ्जरहरुले सहजका लागि सर्भिस गर्दै आएको छ।

Exit mobile version