JanaKura

नक्कली मदिराको गोदामसहित कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थलीमा नौ जना पक्राउ

काठमाण्डौ ४ माघ २०८०/नक्कली मदिराको गोदामसहित कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थलीमा नौ जना पक्राउ गरिएको छ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थलीमा एक घर भाडामा लिएर अवैध मदिरा कारखाना सञ्चालन गरिएको पाइएको छ । प्रहरीले विशेष सूचना पाएपछि बुधबार छापा हान्दा ठूलो परिमाणमा मदिरा बनाउन, प्याकिङ गर्न, लेबलिङ गर्न प्रयोग गरिने सामानहरू फेला परेका थिए । प्रहरीले अवैध गतिविधिमा संलग्न नौजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्वदेशी र विदेशी ब्रान्डका नक्कली रक्सी बनाउने कारखाना फेला पारेको हो । प्रहरीका अनुसार सो क्रममा नक्कली खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक मदिरा फेला पारेको छ । यस्तै, मदिरा बनाउन प्रयोग गरिने सामानहरू, सगुन ब्रान्डका मदिरा पदार्थ, चिनी–पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजस्व विभागको अन्तःशुल्कको स्टिकरहरू, लेबलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरूलगायत अन्य विभिन्न सामग्री फेला परेको छ । प्रहरीले विनोद कार्कीसमेत नौजनालाई पक्राउ गरी अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ । पक्राउ पर्नेमा रामेछाप घर भएका कार्कीसँगै मनोज खत्री, महेश खत्री, मनीष खत्री, सिन्धुपाल्चोक घर भएका मोहन खड्का र रोशन कार्की, सिन्धुली घर भएका गौरव तामाङ र लेखविक्रम थापा तथा काठमाडौं घर भएका सुमन नगरकोटी छन् ।

Exit mobile version