काठमाडौं २ माघ २०८० : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरिएको भन्दै सोमबार विज्ञप्ति निकालेर निगमले जानकारी दिएको छ । निगमका अनुसार मूल्य घटेपछि सोमबार राति १२ बजेदेखि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ कायम भएको छ । त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १५३ रुपैयाँ कायम भएको निगमले उल्लेख गरेको छ । सुर्खेत र दाङ क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १६५ र डिजल तथा मट्टितेल १५५ कायम भएको छ ।