काठमाडौँ, २४ पुस : कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत् ४२ मेगावाट क्षमताको माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । निर्माण अवधिको ब्याजसहित रु १० अर्ब ५७ करोड अनुमानित लागत रहेको आयोजनामा ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत स्वपूँजी (इक्विटी)बाट लगानी जुटाइएको हो । एनएमबी बैङ्क र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल) को सहवित्तीयकरणमार्फत् आयोजनामा निर्माण अवधिको ब्याजसहित रु सात अर्ब ४० करोड ऋण लगानी गर्ने छन् । कुल ऋणमध्ये एनएमबी बैङ्कको रु चार अर्ब ४० करोड र एचआइडिसीएलको रु तीन अर्ब रहनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आयोजनाको प्रवद्र्धक मोदी जलविद्युत् कम्पनी लिमिटेड, एनएएमबी बैैङ्क र एचआइडिसीएलबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ । त्यस अवसरमा मन्त्री बस्नेतले देशभित्र उत्पादित विद्युत् आन्तरिक रुपमै खपत बढाउने र बचत भएको विद्युत् भारत तथा बङ्गलादेशलाई बिक्री गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभयो ।