काठमाडौं : नयाँ वर्षलाई स्वागत गरेर गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । प्रत्येक वर्ष नयाँ वर्षको रुपमा पुस १५ गतेलाई गुरुङ समुदायले ‘तमु ल्होसार’ मनाउने गर्दछन् ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । ल्होसारको अवसरमा देशभर गुरुङ समुदायले विभिन्न कार्यक्रम गर्दैछन् ।तमु ल्होसारका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले शुभकामना व्यक्त गरेका छन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।