काठमाडौँ, १२ पुस : न्हुजः खलः टोखाद्धारा कवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठ ‘न्हुजः प्रगतिशील साहित्य पुरस्कार २०८०’ बाट सम्मानित हुनुभएको छ । जनकवि दुर्गालाल श्रेष्ठज्यूलाई रु ५० हजार राशीको ‘न्हुजः प्रगतिशील साहित्य पुरस्कार २०८०’ न्हुजः खलः टोखाद्धारा आयोजित नागरिक अभिनन्दन तथा बिबिध सांस्कृतिक कार्यक्रमको अवसरमा सम्मानित गरिएको हो।
न्हुजः खलःकै व्यवस्थापनमा उहाँलाई टोखामा सक्रिय सम्पूर्ण परम्परागत दापा खलः, भजन खलः, धिमे खलः, धाँ खलः, प्वं खलः, नायो खिं खलः लगायत सांस्कृतिक संघ संस्थाको तर्फबाट नागरिक अभिनन्दन र परम्परागत बाजा गाजा सहित नगर परिक्रमा गराई ती सबै सांस्कृतिक समूहहरुको तर्फबाट संयुक्त रुपमा अभिनन्दन पत्र अर्पण गरिएको न्हुजः खलः का अध्यक्ष डा.दिपेन्द्र क्षेष्ठले बताउनुभयो ।
न्हुजः खलःले स्थापनाकालदेखि नै पाठन संस्कृति र सांस्कृतिक क्रियाकलापहरुको माध्यमबाट जनतालाई आफ्नो अधिकार प्राप्तिका लागि लड्न उत्प्रेरित गर्ने र कर्तव्य निर्वाहप्रति चेतनशील बनाउने काममा निरन्तर सक्रिय हुँदै आइरहेको अध्यक्ष डा दिपेन्द्र श्रेष्ठको भनाई छ ।न्हुजः खलः, र यस अन्तर्गत सञ्चालित न्हुजः पुस्तकालय, पञ्चायती निरंकुशताविरुद्ध जनतालाई राजनीतिक, शैक्षिक, सांस्कृतिक र भाषिक चेतना जगाउन बि.सं २०४१ भाद्र १ गते तत्कालीन नेपाल भाषा मंका खलःका अध्यक्ष स्व. पद्मरत्न तुलाधरबाट उद्घाटन भई निरन्तर सक्रिय सामाजिक संस्था हो

नेपाली र नेपाल भाषामा अत्यन्तै प्रख्यात कृति तथा गीतहरुको रचना गर्नुभएका ९२ वर्षीय जनकवि दुर्गालाल श्रेष्ठ नेपाल भाषा र नेपाली भाषाका एक लोकप्रिय कवि हुन्। उनलाई नेपाल भाषा परिषदले सन् २००३ मा जनकवि उपाधिबाट सम्मान गरेको थियो। उनलाई प्रगतिशील साहित्यकार मानिन्छ। “विगत छ दशकदेखि आफ्नो मातृभाषा (नेपाल भाषा) र नेपाली भाषामा धेरै सुमधुर गीत, कविता, कविता र बालसाहित्य लेखेर नेपाली साहित्यलाई समृद्ध बनाएको” मा उनलाई २०६७ मा जगदम्बा श्री पुरस्कार प्रदान गरिएको थियो। जनकवि श्रेष्ठका ‘घा जुया जक ख्वइगु ख जि स्यागुलि सः तयगु खः‘मिरिमिरि जःलुल…’,‘राजमति वा मतिना याय वा…’ ‘कान्ही मैचा मंसिर महिना…’,‘हायरे ज्यापुनि तःता…’ फुलको आँखामा फुलै संसार लगायतका गितहरु चर्चित छन् ।दुर्गालाल श्रेष्ठ अस्सी नाघिसक्दा समेत निरन्तर लेखिरहने वर्तमान युगकै महान नेपाली कवि हुन् ।प्रेमभावका कवितादेखि आध्यात्मिक भावका कविता लेख्ने उनी भाषिक–जातीय आन्दोलनलाई अगुवाइ गर्ने गीत–कविताका तीक्ष्ण सर्जक हुन् । नेपाली साहित्यमा पनि अनेकौं पुरस्कारबाट सुशोभित उनी जनतामाझ जनकवि भनी चिनिन्छन् । दुर्गालाल श्रेष्ठका नेपालभाषाका ५० र नेपालीमा ३० गरी ८० वटा कृति बढी प्रकाशित र त्यसभन्दा बढी प्रकाशोन्मुख पुस्तकहरु छन् । दुबै भाषामा उहाँका सयौं कालजयी गीतहरु छन् । उहाँका गीतहरुमा देशभक्ति भावना, सकारात्मक चिन्तन, संस्कृति तथा संस्कारप्रति मोह र समाजको प्रगतिशील रुपान्तरणको शंखघोष भेटिन्छन् भने कतिपय गीतहरुले मायाको माधुर्यता र स्पन्दनको अमिट छाप पनि छोड्छन् ।

समग्रमा समाजको प्रतिविम्व र हामीले तय गर्नुपर्ने बाटोको मार्गदर्शक हुन्, उहाँका गीत तथा कविताहरु । अभिनन्दन समारोहमा उहाँबाट रचित यस्तै केही गीतहरु नेपाल भाषाका ख्यातीप्राप्त गायकहरु जुजुकाजी रञ्जित, पवित्र कसा, निशा देसार, रत्नशोभा महर्जन, दिपा महर्जन, सतिश महर्जन, युनिशा शेर्पा देसार, सिद्धार्थ श्रेष्ठ र सुजिता डंगोलले भने संगीत संयोजन बज्र ट्युन्सले प्रस्तुत गरिएको थियो ।
उहाँको परिकल्पनामा नेपाल सम्वत् ११०९ मा स्व. पद्मरत्न तुलाधरको अध्यक्षतामा ‘नेपाल भाषा मंका खलः’को गठन सँगै पञ्चायती निरंकुशताले ‘एक भाषा, एक नीति’को दमनका कारण आत्मरक्षामा पुगिसकेको नेपाल भाषा संरक्षण अभियानले नयाँ गति लियो, र यसैको प्रेरणामा नेपालमा अन्य मातृभाषा सम्बद्र्धनमा प्रेरित संघ संस्थाहरु पनि स्थापना हुन थाल्यो । यसर्थ, उहाँलाई नेपालका सम्पूर्ण राष्ट्र भाषा सम्बद्र्धन र प्रवद्र्धनको साझा नेता÷अभियन्ताका रुपमा समेत लिन सकिन्छ ।