काठमाडौँ, ११ पुस : प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेश विजयी भएका छन् । बागमतीले लुम्बिनी प्रदेशलाई पराजित गर्दै विजयी भएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीले लुम्बिनीमाथि नौ रनको झिनो अन्तरले पराजित गरयो । बागमतीले प्रस्तुत गरेको १ सय १० रनको लक्ष्यलाई लुम्बिनीले निर्धारित २० ओभर आठ विकेट गुमाउँदै एक सय रनमा समेटियो । लुम्बिनीका लागि कप्तान सरस्वती घर्तीमगरले २९ रन बनाइन् भने कमला घर्तीमगरले २०, सरस्वती पुनले १७ तथा लक्ष्मी चौधरीले ११ रन बनाए । बागमतीका लागि कप्तान अस्मिना कर्माचार्य र खुसी डङ्गोलले समान दुई/दुई विकेट लिए भने संस्कृति फुयाल, सोनी पाख्रिन र मनिषा उपाध्यायले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ९ रनको योगफल बनाएको थियो । बागमतीका लागि हेलिशा गुरुङले सर्वाधिक ४६ रनको योगदान दिइन । त्यस्तै याशु पाण्डेले अविजित १२ रन बनाए । लुम्बिनीका लागि शर्मिला रोक्काले तीन विकेट लिइन् भने मनिषा राना, कीर्तिका मरासिनी, मधु डिसी र कमला घर्तीमगरले समान एक/एक विकेट लिए । जितसँगै बागमतीले पाँच खेलमा छ अङ्क जोडेको छ । त्यस्तै हारसँगै लुम्बिनीले समान खेलबाट चार अङ्क जोडेको छ ।