पाँच दिने तेस्रो अन्तरराष्ट्रिय जलरङ महोत्सव कलालाई चलायमान बनाउँदै सकियो
काठमाडौँ २१,मंसिर । पाँच दिने तेस्रो अन्तरराष्ट्रिय जलरङ महोत्सव हिजो बुधबारबाट सम्पन्न भएको छ ।काठमाडौँमा शुरु भएको महोत्सवले नेपाली कला क्षेत्रमा चलायमान बनाएको र जलरङको महत्व बढाएको अग्रज कलाकारबाट प्रतिक्रिया आएको छ । यही मङसिर १६ गतेदेखि शुरु भएको महोत्सवमा ३९ देशका ३४३ कला प्रदर्शनीसहित विभिन्न ३० जना विदेशी कलाकारको प्रत्यक्ष सहभागितामा महोत्सव भएको थियो । महोत्सव अनतरगत सम्पदा क्षेत्रमा कला कार्यशाला, नगरकोटमा कला कार्यशालाका साथै कला डेमोस्ट्रेसन र कला प्रदर्शनी गरिएको थियो । महोत्सवको समापनका अबसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले महोत्सवले नेपालमा वाटरकलरका माध्यामबाट हुने कला सिर्जनाको महत्व बढाएको र नेपालको सम्पदा क्षेत्रबारे विश्वमा प्रचारप्रसार हुँदा पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो क्रममा उहाँले कला कार्यशालाका क्रममा उत्कृष्ट भएका नेपालका सुजन तामाङ, थाइल्याण्डका एकराज वन र बंगलादेशका ताहनुर ममुनलाई आर्ट सामग्री र अवार्ड प्रदान गरिएको थियो । समापन कार्यक्रममा कला समीक्षक रमेशनाथ खनाल, प्रतिष्ठानका उपकुलपति लालकाजी लामालगायतको सहभागिता थियो । महोत्सवअन्तरगत कलाकारले काठमाडौँ दरबार स्क्वायर, स्वयम्भू, नगरकोटमा पुगेर सुन्दर दृष्यहरु क्यान्भासमा कैद गरेका थिए । विदेशबाट आएका कलाकारले नेपालको मौलिक तथा पुरातात्विक क्षेत्रमा पुगेर कला सिर्जना गर्न पाएकोमा खुसी व्यक्त गरे । कला कार्यशालामा बेलायत, म्यानमार, थाइल्याण्ड, बंगलादेश, भारत, अष्ट्रियालगायत देशका कलाकार प्रत्यक्ष सहभागि थिए । भारतीय कलाकार अमलेस मजुम्दारले नेपालको सम्पदा क्षेत्रमा जति कला सिर्जना गरे पनि गरिरहन मन लाग्ने बताउनुभयो । आयोजक अन्तरराष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष तथा कार्यक्रम संयोजक एनवी गुरुङले धेरै कलाकारले उपत्यकाका सम्पदा क्षेत्रका चित्रहरु जलरङका माध्यामबाट सिर्जना गरेकाले नेपालको पहिचान विश्वसामु पुग्ने र कलामार्फत पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो । यसअघि काठमाडौँ, लुम्बिनी र कास्कीमा यसैगरी जलरङ महोत्सव भएको थियो । यसपाली सहभागिताका दृष्टिले सबैभन्दा ठूलो महोत्सव आयोजना भएको छ ।