❝ नेपाली कलाकार अभिनित तेलुगु फिल्म ‘हिटम्यान’ बहुभाषामा प्रदर्शन हुँदै ❞
2023-12-06
काठमाडौँ २० मङ्सिर : नेपाली कलाकार अभिनित तेलुगु फिल्म ‘हिटम्यान’ नेपाली, हिन्दी, अरबी, तमिल, चिनियाँलगायत भाषामा एकसाथ प्रदर्शनमा आउने भएको छ । आज पत्रकार सम्मेलनमा फिल्मका निर्देशक एवं अभिनेता विष्णु अधिकारीले आगामी फ्रेबुअरीदेखि फिल्म विश्वव्यापी प्रदर्शन हुने जानकारी दिनुभयो । प्रदर्शनको मिति भने केही दिनपछि तय हुने उहाँले बताउनुभयो । फिल्ममा अधिकारीसँगै, आँचल शर्मा, प्रशान्त ताम्राकार र मिलन सिजापतीलगायत कलाकारको अभिनय रहेको जनाइएको छ । फिल्मको कथा पनि अधिकारीले नै लेख्नुभएको हो । दक्षिण भारतीय शैलीमा बनेको फिल्ममा नेपाल र भारतबीचको अन्तरसम्बन्धलाई देखाउन खोजिएको निर्देशक अधिकारीले बताउनुभयो । फिल्मले काठमाडौँ र पोखराको सौन्दर्यलाई प्रस्तुत गर्ने उहाँको भनाइ छ । नेपाल, भारत, दुबई, श्रीलङ्का र फ्रान्समा फिल्मको छायाङ्कन गरिएको अधिकारीले बताउनुभयो । ९९ सिनेमाज्को ब्यानरमा बनेको फिल्मको निर्माता दीपक अधिकारी र सहनिर्माता सन्नी लावती रहनुभएको छ । उक्त फिल्मलाई ओटिटी ल्पेटफर्म अमेजन प्राइम भिडियोमासमेत प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।