धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्ध : लिङ्देन
काठमाडौं, ८ मंसिर । सरकारले दुर्गा प्रसाईंमाथि लगाएको अघोषित नजरबन्दको विरोध जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन सरकारलाई सच्चिन आग्रह गरेका छन्।धरपकड र दमनले कुनै पनि खालका समस्याको समाधान नहुने जनाउँदै उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत् सरकारलाई सच्चिन आग्रह गरेका हुन्।
‘राष्ट्र बचाऔं’ महाअभियानका साथ बिहीबारदेखि आन्दोलनमा रहेका मेडिकल व्यावसायी प्रसाईंलाई सरकारले आज ‘नजरबन्द’मा राखेको छ। अहिले भक्तपुरस्थित उनको घर बाहिर ठूलो संख्यामा प्रहरी उपस्थित छ। घरबाट बाहिर निस्किएर उनलाई गिरफ्तार गर्ने तयारीमा सरकार लागिपरेको हो। घरबाट निस्किन नदिई उनलाई नजरबन्दमा राख्ने वैकल्पिक योजनामा पनि सरकार रहेको प्रहरीले जानकारी दिएको छ।आज शुक्रबार तीनकुनेमा भेला भई विरोध कार्यक्रम गर्ने घोषणा गरेका प्रसाईंलाई काठमाडौं सिडिओ कार्यालयले त्यहाँ सभाका लागि अनुमति दिन अस्वीकार गरेको हो। यसका साथै प्रहरीले आन्दोलनकारीहरूलाई देख्नेबित्तिकै पक्राउ गर्न थालेको छ।