प्रधानमन्त्रीसँग चिनियाँ प्रतिनिधिमण्डको शिष्टाचार भेट
काठमाडौँ, २३ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।भेटअवसरमा प्रधानमन्त्री दाहालले हिमालयपार सम्पर्क सञ्जाल दुई देशका लागि महत्वपूर्ण भएको बताउँदै त्यसलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री दाहालले चिनियाँ सरकारको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान प्रान्तबाट सिधा उडानको अपेक्षा गरेको बताउनुभयो ।नेपालले आसन्न विश्व जलवायु सम्मेलनमा जलवायु परिवर्तनका असरको विषयलाई मुख्य एजेण्डाका रुपमा उठाउने जानकारी दिँदै प्रधानमन्त्री दाहालले त्यसमा चीनजस्ता ठूला मुलुकले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । विश्वमञ्चमा जलवायु परिवर्तनले पारेको असरबारे नेपालले उठाएका विषयमा समर्थन गर्न पनि उहाँले आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले नेपाल र तिब्बतको सीमामा रहेका नाका सहजरुपमा सञ्चालन गर्न चीन सरकारले पहल लिएकामा धन्यवाद दिँदै मित्रराष्ट्र चीनबाट आगामी दिनमा थप सहजीकरणसहित सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा आपसीहित र चासोका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । नेपालमा गएको भूकम्पका समयमा चीन सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भूकम्पको पूर्व सूचना संयन्त्र विकासमा पनि नेपालले अपेक्षा गरेको उल्लेख गर्नुभयो । उहाँले ल्हासा–काठमाडौँ सिधा उडानको तयारीप्रति चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।