काठमाडौं २२ कार्तिक । रत्न राज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तह दोस्रो सेमेस्टका विद्यार्थीले सोमबार विभिन्न सम्पदा बोकेका महत्वपूर्ण सांस्कृतिक क्षेत्रको भ्रमण सम्पन्न गरेका छन्। ‘झीगु संस्कृती म्हसिका’ भन्ने मुल नाराका साथ कार्तिक २० गते रत्नराज्य क्याम्पसमा अध्ययनरत नेपाल भाषाका विद्यार्थीहरुको सो सांस्कृतिक भ्रमणसंगसंगै मौलिक सांस्कृतिक सम्पदाहरुको नजिकैबाट अध्ययन अवलोकन गरेका हुन् ।
सांस्कृतिक भ्रमण टाेलीले खोकना (खोना, खोखना), बुङ्ग, मच्छिन्द्र बहाल, ह्येग्रिव भैरव, मनकामना, प्रथमपुर बिहार, कार्यबिनायक र सिकालीमाई भ्रमण गरेका छन्। सांस्कृतिक भ्रमण टोलीलाई स्वागत गर्दै ललितपुर महानगरपालिका २२ नं वडा अध्यक्ष सागर तुलाधरले विद्यार्थीहरुले भ्रमण गरेकोमा खुसी समेत व्यक्त गर्नुभयो । अध्यक्ष तुलाधरले आफ्नो वडाबाट रत्नराज्य क्याम्पसमा नेपाल भाषा अध्ययन गर्ने दुई जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने उद्घोष गर्नुको साथै उहाँले आफ्नो वडा भित्र रहेका मुर्त अमुर्त सम्पदा संस्कृतिको अध्ययन अनुसन्धान गर्नेलाई दुई लाख सम्मको बजेट प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो।
सांस्कृतिक भ्रमणका सिलसिलामा खोकना निवासी देय् दबु राष्ट्रिय परिषद सदस्य शरण गोपाल डंगोल, अनिल तुलाधर , कविराज बज्राचार्य, रममान महर्जन, प्रा.डा. चन्द्रमान बज्राचार्य, डा.बज्रमुनी बज्राचार्य सहप्राध्यापक सुनिता राजभन्डारी लगायतले सहजकर्ताको भुमिका निभाएको भ्रमणका एक विद्यार्थी प्रशान्त डंगोलले जानकारी दिए। भ्रमणको व्यवस्थापकको भुमिका राजन डंगोलले निभाएका थिए। भ्रमणको बीचबीचमा मनोरन्जन गर्नको लागि लमेकवार्ता, लोकभाका, नृत्य जस्ता संक्षिप्त कार्यक्रम गर्दै सांस्कृतिक भ्रमण कार्यक्रम अविस्मरणीय बनेको भ्रमण टोलीले बताए।