काठमाडौँ, १९ कात्तिक : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ दशमलव २३ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अङ्कले ओरालो लागेर तीन सय ५२ दशमलव ३९ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज एक उपसमूहको शेयर मूल्य उकालो लाग्दा १२ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३५ लाख ५८ हजार पाँच सय ५४ कित्ता शेयर रु ९७ करोड २३ लाख ६७ हजार दुई सय ७८ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार रकमका आधारमा नबिल बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड ६० लाख ८० हजार बराबरको कारोबार भयो । ग्लोबल आइएमई बैंक रु तीन करोड १७ लाख ७९ हजार आठ सय ७४, एनआइसी एशिया बैंक रु तीन करोड तीन लाख ८० हजार दुई सय १०, हिमालयन डिस्टिलरी रु दुई करोड ८९ लाख ५९ हजार चार सय २४ र नवील बैंक रु दुई करोड ८७ लाख ५२ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।