जाजरकोट र रुकुम पश्चिममा भूकम्पका कारण हालसम्म १२८ जनाको मृत्यु
काठमाडौँ, १८ कात्तिक : जाजरकोट र रुकुम पश्चिममा गरी भूकम्पका कारण हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । प्रहरी नायव उपरीक्षक थापाका अनुसार भूकम्प प्रभावितको उद्धारमा जाजरकोटस्थित आश्रिम गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विकाश थापाको नेतृत्वमा ६७ जनाको टोली खटिएको छ । गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो ।यस्तै रुकुम पश्चिमस्थित नं ४७ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माको नेतृत्वमा २४ जना तथा नं ४७ गुल्मबाट सशस्त्र प्रहरीका बरिष्ठ नायव निरीक्षक बलबहादुर थापाको नेतृत्वमा ११ जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।