पुराना ऐनहरु समय सापेक्षित रुपमा सच्चाउनुपर्नेछ : मन्त्री किराती
काठमाडौँ, कात्तिक १५ : पर्यटनको विकासका लागि यस सम्बन्धी पुराना ऐन तत्काल संशोधन गर्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताउनुभएको छ । “हाम्रा ऐनहरु पुराना छन् । ऐनहरु समय सापेक्षित रुपमा सच्चाउनुपर्नेछ”, मन्त्री किरातीले भन्नुभयो, “आजै जोगमुनिबाट फोन आएको थियो ।आज नेपाल पर्वातारोहण सङ्घको ५०औँ वार्षिकोत्सव समारोहमा उहाँले ऐन संशोधनसँगै विदेशी पर्यटकप्रति गर्ने व्यवहारमा सुधार गर्नुपर्ने बताउनुभयो । विदेशी पर्यटकले एउटा पाँच तारे होटलमा रू २५ हजारको कोठा बुक गर्नुपर्ने हुन्छ । तर २५ हजार भारु भन्दा बढी रकम बोक्न नपाइने प्रावधान भएकाले सो स्थितिप्रति उहाँहरुले गुनासो गर्नुभयो ।” विदेशी पर्यटकलाई जहाजको भाडा दोब्बर गर्दा विश्वमा नकरात्मक सन्देश गएको उहाँको भनाइ थियो । मन्त्री किरातीले ‘फेक रेस्क्यु’ले नकरात्मक सन्देश दिने भन्दै सरकारी, गैरसरकारी र निजी क्षेत्र यस्ता विषयप्रति गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।“एडभेन्चर, नेचर र कल्चर नेपाली पर्यटनको मौलिकता हुन् । यसलाई विश्व समुदायमा नयाँ ढङ्गले बजारीकरण (रिब्राण्डीङ) गर्न सके पर्यटनबाट समृद्धि सम्भव छ”, मन्त्री किरातीले भन्नुभयो ।उहाँले जलवायु परिवर्तनको असरप्रति ध्यानाआर्कषण गराउँदै कतिपय स्थानमा पर्यटकका लागि निषेधित क्षेत्र भएकाले पर्यटनमा असहजता भएको बताउनुभयो । उहाँले सङ्घले हिमाल तथा हिमाली पर्यटन प्रवद्र्धन क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । सङघको ५०औँ स्वर्ण महत्वसका अवसरमा सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले सुरक्षित पर्वातारोहण, तत्काल उद्धार र हिमालमा फोहर व्यवस्थापनका लागि सबैको सहकार्यका लागि आह्वान गर्नुभयो