काठमाडौं ११ कात्तिक :‘पहाडकी रानी’ उपनामले परिचित पर्यटकीय क्षेत्र बन्दीपुरपमा पर्यटकको चहलपहल बढ्न थालेको छ । आन्तरिक एवंं बाह्य पर्यटकको दैनिक आवागमनमा वृद्वि हुन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या बढी हुने गरेको बन्दीपुर पर्यटन व्यवसायी दसैँमा आन्तरिक पर्यटकको चहलपहल बढेको बताउछन् ।कुनै बेला व्यापारिक केन्द्र बनेको बन्दीपुर विसं २०२५ मा सदरमुकाम दमौलीमा सरेपछि व्यापारी पनि दमौली, आँबुखैरेनी र नारायणगढतिर गएका कारण यो स्थल प्रायः सुनसान भएको थियो ।दसैँमा दैनिक सात सयदेखि एक हजारसम्म आन्तरिक पर्यटकले बन्दीपुर भ्रमण गरेका थिए । विशेषगरी युरोपेली मुलुक, चीन, भारतलगायत देशबाट पर्यटक बन्दीपुर आउने गरेका छन् । बाह्य पर्यटक दिनमा चार सयदेखि पाँच सयसम्म आउने गरेका छन् । बन्दीपुर घुम्न आउने पर्यटकका लागि होटल व्यवसायीले आकर्षक कार्यक्रम नबनाए पनि आन्तरिक पर्यटकका लागि १० देखि १५ प्रतिशतसम्म छुट दिने गरिएको छ ।
