❝ राष्ट्रपतिद्वारा बडादसैँको उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त ❞
2023-10-21
काठमाडौँ, ४ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । बडादसैँको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा उहाँले यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामथ्र्य प्रदान गरोस् भनी कामना गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “यो पर्व सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि हो ।” राष्ट्रपति पौडेलले मुलुकमा परम्परागतरूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न पनि थप योगदान गरिरहेको बताउनुभयो । बडादसैँमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्व उजागर गरिरहेको बताउँदै उहाँले दसैँलगायका महान् चाडपर्वको संरक्षण एवं संवर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विचार प्रकट गर्नुभएको छ । राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएको छ, “नेपालीहरूको महान् चाड बडादसैँ २०८० को शुभअवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”