दसैँको मुख्य दिन नजिकिएसँगै पछिल्लो २४ घण्टामा एक लाखले छाडे उपत्यका
काठमाडौँ, ३ कात्तिक : दसैँको मुख्य दिन नजिकिएसँगै पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् । आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।योसँगै घटस्थापनापछि उपत्यका छाड्ने यात्रुको सङ्ख्या आजसम्म कुल चार लाख ६६ हजार नागरिक दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर गएको प्रहरीले जनाएको छ ।घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने नागरिकको सङ्ख्या बढ्न सुरु भएकामा पछिल्लो तीन दिनदेखि अत्यधिकरूपमा बढेको प्रहरीले जानकारी दिएको छ ।प्रहरीका अनुसार घटस्थापनाको दिन असोज २८ गते ५१ हजार दुई सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार तीन सय ८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो । असोज ३० गते ७३ हजार आठ सय ९६, कात्तिक १ गते ९१ हजार एक सय दुई र २ गते ९८ हजार तीन सय ३२ जनाले उपत्यका छाडेका छन् ।