❝ बिआरआई नेपालको आर्थिक विकासका निम्ति उपयोगी : झलनाथ खनाल ❞
2023-10-19
काठमाडौँ, २ कात्तिक : चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सार्नुभएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) विश्वका विभिन्न देशका जनता–जनताबीचको आपसी सहकार्य तथा आर्थिक विकासका निम्ति भएको पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले बताउनुभएको छ । बेल्ट एण्ड रोड फाउण्डेशनले बेइजिङमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै नेता खनालले समतामूलक, समृद्ध र प्रगतिशील विश्व व्यवस्थाका लािग बिआरआई महत्वपूर्ण हुने बताउनुभएको नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय विदेश विभागले जनाएको छ । बिआरआईले विश्वभरका जनतालाई एकापसमा व्यापार गर्न, आपसी मूल्य, मान्यताबाट सिक्न र पारस्परिक सहयोगलाई प्रवर्द्धन गर्न अभुतपूर्व अवसर प्रदान गरेको नेता खनालले बताउनुभयो । चीनले अगाडि सारेको बिआरआईले विश्वभर रहेका मानिसको मानवता र समावेशी आर्थिक सहयोगको साझा भविष्यको परिकल्पनालाई पुनः फिर्ता ल्याएको खनालले भन्नुभयो । बिआरआईका माध्यमबाट नेपालले आर्थिक विकासमा गति लिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।