• 2023-10-18

    काठमाडौं, १ कार्तिक। त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएकाे छ ।

    मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै विजयी भएकाे हाे ।

    नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले । उनले ४० बलमा ५ चौकाको मदतले नेपालका लागि सर्वाधिक ५१ रन बनाए ।

    पौडेलसँग उत्कृष्ट साझोदारी गरेका दिपेन्द्र सिंह ऐरीले समेत ३४ रन बनाए । ओपनर कुशल भुर्तेल १४ र आसिफ शेखले २३ रन बनाएको नेपालको इनिङ्समा कुशल मल्ल ११ रनमा आउट भएका थिए ।

    यूएईका अल नासिर र निलांश केसवानीले समान एक-एक विकेट लिए । पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाए ।

    यूएईका लागि बासिल हामिदले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई उकासेका थिए ।

    अल नासिरले ३२, कप्तान मुहम्मद वसीमले १७ तथा आसिफ खानले १५ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

    नेपालका लागि करण केसीले ३ विकेट लिए भने गुल्सन झाले २ तथा अबिनाश बोहरा र सोमपाल कामीले समान एक-एक विकेट लिए ।

    नेपालले सिरिजको दोस्रो खेलमा भोलि बिहीबार हङकङसँग खेल्नेछ ।

     

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै