❝ सिटिजन्स बैंकको प्रस्तावित ५.७९ प्रतिशत नगद लाभांश पारित ❞
2023-10-14
काठमाडौं २७ असोज / सिटिजन्स बैंकको प्रस्तावित ५.७९ प्रतिशत नगद लाभांश पारित भएको छ । असोज २६ गते सम्पन्न बैंकको १७औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका शेयरधनीहरुले आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित ८२ करोड २१ लाख ६१ हजार रुपैयाँ बराबरको नगद लाभांश पाउने छन् ।
बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत गरेको छ ।सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ ।त्यस्तै,सिटिजन्स बैंकले सञ्चालक समितिको सदस्यमा चार जनालाई निर्वाचित गरेको छ । सभाले प्रवलजङ्ग पाण्डे, सीता कार्की, सजन शर्मा र दिग्विजय विष्टलाई बैंकको सञ्चालकमा निर्वाचित गरेको हो । बैंकका अध्यक्ष राजनसिंह भण्डारीले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही सञ्चालन गर्ने र भविष्यमा बैंकले थप प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई जानकारी गराए ।