❝ दसैँ, तिहारका लागि २४ हजार तीन सय ४० यात्रुले लिए अग्रिम टिकट ❞
2023-10-10
काठमाडौँ, २३ असोज ःदसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले अग्रिम टिकट लिएका छन् । असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि खुला गरेको थियो । पहिलो दिन सोमबारमात्र २४ हजार तीन सय ४० यात्रुले टिकट लिएको नयाँबसपार्कका सञ्चालक लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले जानकारी दिनुभयो ।सरकारले सोमबारदेखि लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनलाई लक्ष्य गरी अग्रिम टिकट खुलाए पनि छोटो दूरीमा जाने सवारी साधनका लागि भने घटस्थापनादेखि खुलाउने तयारी गरेको छ ।सोमबार अग्रिम टिकट लिनका लागि आइतबार रातिदेखि नै यात्रुहरु नयाँबसपार्कमा आएर लाइन लागेका थिए । नयाँबसपार्कबाट देशको ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत हुँदै आएका छन् । नयाँबसपार्क क्षेत्रमा चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप जनशक्ति परिचालन गरेको छ ।