अनलाइन बेटिङबाट २४ करोड कारोबार गर्ने एक जना पक्राउ
काठमाडौँ, १९ असोज : अनलाइन बेटिङबाट रु २४ करोड बराबरको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निजलाई पक्राउ गरेको हो । पक्राउपर्नेमा झापा दमक नगरपालिका–१२ घर भएका ३० वर्षीय पिन्टुकुमार साह रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले जनाएको छ। पक्राउ परेका साहलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौँमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।अपराध अनुसन्धान कार्यालयका अनुसार इन्टरनेटको दुरुपयोग गरी अनलाइन जुवा, सट्टाबाजीजस्ता अनलाइन खेलहरु खेली/खेलाइ सहभागी भएकाले नेपाल राष्ट्र बैंकको नियमविपरीत गैरकानुनीरूपमा रु २४ करोड पन्ध्र लाख १७ हजार एक सय ३८ बराबर रकमको कारोबार गर्ने कार्यमा संलग्न रहेको आधारमा निजलाई झापाबाट पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।