काठमाडौँ, १९ असोज : नेकपा (एमाले)को उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । अधिवेशनको आज अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैरभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध उपत्यका प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अधिवेशनको उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । “कतिपय विपक्षीहरूले अधिवेशनको सन्दर्भमा टिकाटिप्पणी गर्ने गरेको एमालेमा भिडन्त भयो भनेर हौवा फैलाएका छन्,” अध्यक्ष ओलीले भन्नुभयो, “हारजित हुँदा मन दुख्न सक्छ, सहमति गर्नुस् नभएमा लोकतान्त्रिक अभ्यास त छँदैछ ।” कार्यक्रममा एमालेका महसाचिव शङ्कर पोखरेलले मुलुकमा आफ्नो पार्टीले एकल बहुमत प्राप्त गरेमा मात्रै समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा हुने बताउनुभयो ।उद्घाटनअघि शान्तिबाटिका (रत्नपार्क) बाट प्रदर्शनीमार्गसम्म पदयात्राको आयोजना गरिएको थियो ।अधिवेशनका लागि तीन सय चार प्रतिनिधि चयन भइसकेका छन् । अधिवेशनले ७५ सदस्यीय उपत्यका प्रदेश कमिटी निर्वाचित गर्नेछ । यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यवसाय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी छन्।एमालेको लुम्बिनी, बागमती, कर्णाली, कोशी र गण्डकी प्रदेश गरी पाँच प्रदेशमा अधिवेशन सम्पन्न भइसकेको छ ।लुम्बिनीमा राधाकृष्ण कँडेल, बागमतीमा कैलाश ढुंगेल, कर्णालीमा गुलाबजंग शाह, कोशीमा घनश्याम खतिवडा र गण्डकीमा नवराज शर्मा प्रदेश अध्यक्ष निर्वाचित भइसकेका छन् । अब एमालेको सुदूरपश्चिम र मधेस प्रदेश अधिवेशन हुन बाँकी रहेको छ ।