काठमाडौँ, १८ असोज : चीनको हाङझाउमा भएको १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा विश्व कीर्तिमान कायम गर्न सफल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दार पदमा पदोन्नति भएको छ । यही असोज १० गते भएको नेपाल र मङ्गोलियाबीचको खेलमा खेलाडी ऐरीले नौ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेको थियो ।ऐरीले नौ बल खेल्दा आठ छक्का र एक बलमा दुई रन लिँदै नौ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएको हो । यसअघि उक्त कीर्तिमान भारतीय खेलाडी युवराज सिंहको नाममा अङ्कित थियो । भारतीय खेलाडी सिंहले १२ बलमा अर्धशतक बनाउँदै कीर्तिमान कायम गरेका थिए। विश्व कीर्तिमान कामय गरेबापत नेपाल प्रहरीले उहाँलाई पदोन्नति दिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताउनुभयो । खेलाडी दीपेन्द्रसिंह ऐरी २०७३ सालदेखि नेपाल पुलिसको प्रहरी जवानमा आबद्ध थिए।