JanaKura

नेपाल पदकविहीनबाट जोगियो

काठमाडौँ, १८ असोज : १९औँ एसियाली खेलकुदमा नेपाल पदकविहीनबाट जोगिएको छ । महिला कबड्डीतर्फ नेपालले पदक पक्का गरेको हो । चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न खेलमा इरानले बङ्गलादेशलाई ५४–१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक प्राप्त गर्ने टुङ्गो लागेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ । महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो । नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो । महिला कबड्डीतर्फ समूह ‘ए’मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया रहेका छन् । नेपालले अब समूह ‘ए’को विजेता टोलीसित सेमिफाइनल खेल्ने छ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ । बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी कुल ४५ राष्ट्रमध्ये हालसम्म ३८ राष्ट्रले पदक प्राप्त गर्न सफल भएका छन् ।

Exit mobile version