JanaKura

भारती मानन्धर माइतीघरमा बसिन अनशन, रिगललाई फेरी जेलमै पठाउनुपर्ने

काठमाडाै, १७ असाेज । भारती मानन्धरले माइतीघरमा अनशन सुरू गरेकी छन्।

श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका बाँकेका योगराज ढकाल (रिगल)लाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि त्यसकाे बिराेधमा माइतीघरमा अनशन सुरू गरेकी हुन् ।

भारतीले बुधबार बिहानदेखि माइतीघर मण्डलमा अनशन सुरू गरेकी छन् । श्रीमानको हत्या गर्नेलाई पुन: जेलमा पठाउनुपर्ने उनकाे माग छ ।

‘हत्यारालाई फेरि जेल चलान गर्नुपर्छ,’ उनले भनिन्, ‘यो विषय सरकारले देखेर पनि नदेखेजस्तो नगरोस्। बीचमै हत्यारालाई आममाफी दिँदा यस्ता हत्यारा अरू पनि जन्मिन्छन्। राजनीतिक शक्ति दुरूपयोग गर्दै हत्याराहरू अघि बढ्न सक्छन्,’ उनले भनिन्।

भारतीका श्रीमान चेतनको हत्या अभियोगमा रिगललाई सर्वस्वसहित जन्मकैद सजाय दिइएको थियो।

०७५ भदौ अघिको घटना भए ४० प्रतिशत र त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको कैदीलाई जेलमा असल चालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्था रहेको भन्दै सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

रिगललाई आममाफी दिइएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधि सभा बैठकमै प्रश्न उठाएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति पौडेललाई भेटेर आममाफीबारे तीन बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो।

सत्तारूढ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि रिगललाई सरकारले आममाफी सिफारिस गरेकोमा गत असोज ४ देखि ८ गतेसम्म सानेपामा चलेको केन्द्रीय समिति बैठकबाट विरोध गरेका थिए।

Exit mobile version