काठमाडौँ, १६ असोज : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकतालाई मजबुद तुल्याउन राष्ट्रिय मुद्दामा सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरी बोल्दै उहाँले देश र जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको विषयमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
“म सबै राजनीतिक दलका माननीय सदस्य ज्यू हरुलाई आग्रह गर्न चाहन्छु राष्ट्रिय एकता, सद्भाव र सहिष्णुताका विषयमा एक हौँ”, एमाले अध्यक्ष ओलीले भन्नुभयो,“राष्ट्रका हितहरुलाई सर्वोपरी राख्दै विकासका प्रयासमा एकजुट होऔँ, सार्वभौमसत्ता,स्वाधीनता, भौगोलिका अखण्डतालाई कमजोर पार्ने कार्यन सामाजिक सद्भाव कायम राख्न सबै गम्भीर हुनुपर्छ ।”एमाले अध्यक्ष ओलीले आम जनतामा राजनीतिक दल, प्रणाली, संविधानप्रतिको विश्वास अभिवृद्धि गर्दै अहिलेसम्मका राजनीतिक उपलब्धी संस्थागत गर्न र विकास निर्माणलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
विकास निर्माणका कामले गति लिन नसकेको, समयमै भुक्तानीन नहुँदा निर्माण कम्पनीलाई ऋण तिर्न कठिनाई भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले सुशासन प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रण र आर्थिक विकास र समृद्धिको यात्रामा सक्रियतापूर्वक लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
मित्रराष्ट्र मुलुकहरुसँगको सम्बन्धलाई सुमधुर तुल्याई, कुटनीतिक सम्बन्धलाई बलियो र थप प्रगाढ तुल्याउन लागिपर्ने उल्लेख गर्दै उहाँले परराष्ट्र नीतिमा एक दृष्टिकोण बनाई नेपालको स्वाभिमान र गरिमा बढाउन सबै लाग्नुपर्ने खाँचो औंल्याउनुभयो ।अध्यक्ष ओलीले एसिड आक्रमणकारीलाई रिहा गरिएको, कैदीबन्दीलाई आममाफी दिइएको र सुनकाण्डका आरोपीलाई छाडिएको भन्दै आपत्ति प्रकट गर्नुभयो । उहाँले सुशासन सरकारको नियमित काम भएकाले यसलाई निरन्तरता दिएर शासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो ।