❝ एमाले बागमती प्रदेशको अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित ❞
2023-09-30
काठमाडौँ, १३ असोज ः नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन् । शुक्रबार राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुंगेलले छ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले चार सय ३९ मत प्राप्त गरेका छन् । निर्वाचनमा उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निवाचित भएका छन् ।एमाले पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा अन्तिम मत परिणाम सार्वजनिक भएपछि पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले विजयीलाई बधाई दिएका थिए ।
अधिवेशनमा कूल प्रतिनिधि एक हजार एक सय ७२ रहेकामा एक हजार एक सय ३१ ले मतदानमा भाग लिएका थिए ।अध्यक्ष पदमा केशवराज पाण्डे, सानुकुमार श्रेष्ठ र केशरकुमार बुढाथोकीले उम्मेदवारी दिए पनि फिर्ता लिनुभएको थियो । यही असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार सम्पन्न भएको थियो ।