वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने पक्राउ
काठमाडौँ, १२ असोज : वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी रु तीन लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा अर्घखाँची भूमिकास्थान नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ काडाँघारी बस्ने ३२ वर्षीय अशोक भट्टराई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलेजनाएको छ ।प्रहरीका अनुसार निजले अजयकुमार महतोलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने र त्यसका लागि रु तीन लाख पाँच हजार लाग्ने एवं दुबई पुगेपछि वाइक राइडरमा काम लगाइदिने भनी विश्वास दिलाएर पीडितबाट पटक–पटक गरी जम्मा रु तीन लाख रकम लिई ठगी गरेको आरोपमा आज दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो । निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।