JanaKura

गलकोट नगरपालिकाको ताराखोला,काठेखोला गाउँपालिकामा कालिका माई र शिवको मूर्ति प्रतिस्थापन

काठमाडौँ, १२ असोज/गलकोट नगरपालिका वडा नम्वर ६, २, ताराखोला गाउँपालिका वडा नम्वर १ र काठेखोला गाउँपालिकाको सिमाना पर्ने कालिलेखमा कालिका माई र शिवको मूर्ति प्रतिस्थापन गरिएको छ। कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका कार्यवाहक नगर प्रमुख फमलाल निउरेले कालिलेखको आफ्नो छुट्टै ऐतिहासिक र धार्मिक महत्व रहेको बताउनुभयो । उहाँले कालिलेखको विकास तथा कालिलेखमा पर्यटन पुर्वाधार विकासको लागि कालिलेखलाई उत्पादन संग जोड्न सकेमा मात्र कालिलेखको पहिचान, पर्यटन प्रवद्र्धन, धार्मिक महत्वको दृष्टिले महत्वपुर्ण हुने बताउनुभयो । निउरेले कालिलेखलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागि सबैले हातेमालो गर्नुपर्ने बताउँदै यसको विकास गर्नको लागि नगरपालिकाको तर्फबाट जस्तोसुकै कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष राम प्रसाद कडेँल, गलकोट नगरपालिका वडा नम्वर ६ जामुनडाँडा टोल विकास संस्थाका संयोजक प्रेम प्रसाद पाण्डेले शुभकामना मन्तव्य राख्नुभएको थियो । स्वर्गिय बुबा शालिकराम बस्नेत र आमा कुन्ति कुमारी बस्नेतको स्मृतिमा रु १० लाखको लागतमा उहाँका छोरा गलकोट नगरपालिका वडा नम्वर ६ निवासी देविन्द्र बस्नेत, गौरव बस्नेत, छोरी बाटुली बस्नेत खड्का लगायत सपरिवारको तर्फबाट उक्त मन्दिर २०७८ भदौ २७ गते निर्माण सम्पन्न गरिएको थियो । कालिलेखमा पुजा गर्दा आफ्नो मनोकामना पुरा हुने र परापुर्वकालदेखीनै पुजाआजा हुदैँ आएकोले धार्मिक महत्वको रुपमा विकास गर्नको लागि उक्त मन्दिर निर्माण गरिएको परिवारले जनाएको छ । यसभन्दा अगाडी उक्त स्थानमा दुधिलाको रुख मुनि पुजा आजा गर्ने चलन रहेको स्थानियले बताएका छन् । उक्त स्थानमा पुजा गर्नाले मनोकामना समेत पुरा हुने जनविश्वास रहेको छ । कालिलेखमा विभिन्न किसीमका जडिबुटी, जिवजन्तुहरु रहेको र यहाँबाट रमणिय दृश्यावलोकन गर्न सकिने हुदा यस स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने कालिलेख पर्यटन विकास समितिका सचिव गणेश बुढाथोकीले जानकारी दिनुभयो । मूर्ती भजन मण्डली सहित मन्दिरभित्र प्रतिस्थापन गरिएको थियो । कार्यक्रम मन्दिर निर्माण परिवारका सदस्य तुल बहादुर बस्नेतको अध्यक्षता, कालिलेख पर्यटन विकास समितिका सचिव गणेश बुढाथोकीको स्वागत र पत्रकार सरिता खत्रीकोसञ्चालनमा सम्पन्न भएको थियो ।

Exit mobile version