काठमाडौँ, असोज ७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले आज बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नुहुँदै नेपालमा लगानीको वातावरण बनेको र यसको लाभ लिनका लागि चिनियाँ लगानीकर्तासमक्ष आग्रह गर्नुभयो । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले आयोजना गरेको सम्मेलनमा उहाँले भन्नुभयो, “हामीले लगानीमैत्री वातावरण बनाउनका लागि सम्बन्धित नीति तथा कानून संशोधन तथा अद्यावधिक गरेका छौँ, त्यसैले अहिले नेपालमा लगानीको वातावरण राम्रो बनेको छ ।” प्रधानमन्त्री दाहालले नेपालमा पर्यटन, पूर्वाधार, उर्जा, कृषि, औषधिजन्य उत्पादनलगायतका क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको भन्दै लगानी गरी लाभ लिन पनि आग्रह गर्नुभयो ।
“नेपालमा पछिल्लो समय लगानीको वातावरण बनेको छ, सम्भावना भएका क्षेत्रमा लगानी गरी लाभ लिन म यहाँहरूसमक्ष आग्रह गर्दछु”, चिनियाँ लगानीकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपालमा श्रम कानून पनि लगानीमैत्री र लचिलो छ ।” उहाँले नेपालमा कर पनि तुलनात्मकरूपमा कम रहेको भन्दै लगानीको उचित वातावरण बनेको स्पष्ट पार्नुभयो । नेपालमा लगानीको सुरक्षा र आवश्यक एवं उचित वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो । प्रधानमन्त्री दाहालले सोही समयदेखि हिमालवारि र हिमालपारिको व्यापार सुरु भएको समेत भनाइ राख्नुभयो । सो अवसरमा उहाँले चीन नेपालका लागि प्रत्यक्ष वैदेशिक लगानीका लागि ठूलो स्रोत र व्यापारका दृष्टिले दोस्रो मुलुक भएको बताउनुभयो ।
सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले नेपाल र चीनबीचको सम्बन्ध प्राचीन तथा ऐतिहासिक भएको उल्लेख गर्नुभयो । “पाँचौँ शताब्दीमा नेपाली भिक्षु बुद्धभद्रले चीनको भ्रमण गर्नुभएको थियो भने सातौँ शताब्दीमा नेपालकी राजकुमारी भृकुटीको तिब्बतका राजा स्रङचङ गम्पोसँग विवाह गरी दुई देशबीचको सम्बन्ध अझ सुमधुर भएको थियो, १३औँ शताब्दीमा नेपाली कलाकार अरनिकोले चीन आएर वास्तुकलाको क्षेत्रमा योगदान दिनुभएको थियो”, उहाँले भन्नुभयो ।