❝ पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’असोज १० गतेसम्म ❞
2023-09-23
काठमाडौँ, ६ असोज : किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले शैक्षिक हडताल, संविधान दिवसलगायत कारणले लगातार बिदा परेकाले खोप लगाउने समय थप गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि पनि बिदा परेकाले विद्यार्थी खोप लगाउन नआएपछि पाँच दिन थप गरिएको थियो । “लगातारको सार्वजनिक बिदाले विद्यार्थी (किशोरी) खोप लगाउन आएनन्”, डा गौतमले भन्नुभयो, “त्यही भएर लक्षित किशोरीलाई खोप लगाउनका लागि समय थप गरिएको हो ।” तीज, संविधान दिवस र शैक्षिक हडतालले खोप लगाउने कार्य प्रभावित भएको उहाँको भनाइ थियो । डा गौतमका अनुसार अहिलेसम्म ६४.४३ किशोरीले मात्र एचपिभी खोप लगाएका छन् । सरकारले पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखेकामा अहिलेसम्म छ हजार चार सय ४२ किशोरीले खोप लगाइसकेका उहाँले जानकारी दिनुभयो ।