क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियान असोज ५ गतेसम्म जारी रहने
काठमाडौँ, २ असोज ः किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।” गत भदौ २९ गते बाल दिवस, भदौ ३० गते शनिबार र आइतबार असोज १ गते हरितालिका तीज लगातार बिदा परेकाले विद्यालय बन्दले गर्दा किशोरी खोप लगाउन न्यून सङ्ख्यामा आएको उहाँको भनाइ छ । उहाँका अनुसार लक्षित किशोरीमध्ये ४० प्रतिशतले खोप लगाएको बताउनुभयो ।
सरकारले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखिएको छ । गत भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपिभी खोप ‘डेमोस्ट्रेसन’का रूपमा सञ्चालन गरिएको छ । मन्त्रालयले सवै किशोरीका अभिभावकलाई खोप लगाउनका लागि खोप केन्द्रमा लैजान आग्रह गरेको छ । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० सम्म जन्मेका किशोरीलाई दिइने छ । शाखाका प्रमुख डा गौतमले महिलाका पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप दिइएको बताउनुभयो । एचपिभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ ।