काठमाडौँ, २ असोज ःआज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बदली रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार आज काठमाडौँमा अपराह्न साँझतिर क्षणिक वर्षाको सम्भावना रहेको छ । आज दिउँसो काठमाडौँमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जन÷चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ । अहिले काठमाडौँको वायुको तापक्रम २४ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता आठ किलोमिटर रहेको शाखाले जनाएको छ । आज काठमाडौँमा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना रहेको मौसम पूर्वानुमानले जनाएको छ ।