JanaKura

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

काठमाडौं : सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । हेटौंडास्थित सञ्चो अस्पतालका दुई जना डाक्टरलाई बिरामीका आफन्तले कुटपिट गरेको घटनाको विरोधमा चिकित्सकहरूले आइतबार आकस्मिकबाहेकका सेवा बन्द गरेर प्रदर्शन गरेका थिए । चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि स्वास्थ्य मन्त्रालयले वार्ता समिति गठन गरेको थियो । सरकार र चिकित्सकबीच भएको सहमतिमा सरकारले चिकित्सकलाई हातपात गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ अनुसार कारबाही अघि बढाउने र प्रतिवद्धता जनाएको छ । चिकित्सकहरूको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृत्ति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिनाभित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने पनि सहमति भएको छ ।

Exit mobile version