काठमाडौं, भदौ १ : मानव बेचबिखनमा परेका एक हजार ६ सय ७९ जनाको विगत पाँच वर्षमा नेपालसहित विभिन्न देशबाट उद्धार गरिएको छ । नेपाल प्रहरी, मानव बेचबिखन अनुसन्धान ब्यूरोले आर्थिक वर्ष २०१९/२० देखि २०२३/२४ सम्म मानव बेचबिखनका धेरै पीडितको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामध्ये एक हजार १३४ जनाको विभिन्न जिल्लाका प्रहरी कार्यालयले उद्धार गरेको ब्यूरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । ब्युरोको पहलमा मात्रै ५ सय ४४ जनाको उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये एक हजार ७८ जना महिला र ६०५ पुरुष रहेका छन् । आर्थिक वर्ष २०२२/२३ मा २१४ र आर्थिक वर्ष २०२३/२४ मा ३३६ जनाको उद्धार गरिएको श्रेष्ठले बताए । वैदेशिक रोजगारीको नाममा मानव बेचबिखनका घटना बढ्दै गएको उनले बताए ।