काठमाडौं, ३० भदौ । चाईल्ड नेपालले आफ्नो सामाजिक परिक्षण तथा ५९ औं राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर संयुक्त राष्ट्र संघिय बाल अधिकार समितिबाट जारी भएको जेनरल कमेन्ट २६को वहस नेपालमा प्रारम्भ गरेको छ ।
वातावरण र बालबालिकाको विषयलाई केन्द्रीकृत गरी आएको यस जेनरल कमेन्टको परिचयात्मक प्रस्तुति चाईल्ड नेपालका कार्यक्रम संयोजक सौगातजंग पाण्डेले गर्नुभएको थियो ।
प्रस्तुतिमा जेनरल कमेन्ट के हो, जेनरल कमेन्ट २६ को महत्व, यसमा समावेश भएका सवालहरुका साथै यसको प्रभावकारी कार्यान्वयनमा नेपाल सरकार, नागरिक समाज तथा सरोकार निकायहरुको भुमिकाको विषयमा चर्चा गराउनुभएको थियो ।
प्रस्तुति पश्चात सहभागीहरुले यो विषयमा चर्चा गर्ने क्रममा यो जेनरल कमेन्टले अहिलेको ज्वलन्त विषयको उठान गरेको बताउनुभयो ।
वातावरण र जलबायु परिवर्तनका कारण धेरै बालबालिका समस्यामा रहेको र यसको लागि नेपाल सरकार र सम्बन्धित निकायले यथाशीघ्र नीति तथा कार्यक्रम सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी निर्देशक मोहन दँगालले अबको वकालतको विषयनै वातावरण र जलवायु न्यायको विषय हो भनेर जोड दिनुभयो ।
संस्थाका अध्यक्ष डा। कृष्ण सुवेदिले जेनेरल कमेन्ट २६ ले बालबालिका र वातावरणको सवाललाई थप स्पष्ट पार्न मद्दत गरेको र नेपाल सरकार र नागरिक समाजलाई कार्यक्रम योजना गर्न सहजीकरण गर्ने बताउनुभयो ।