JanaKura

भाषा विहिन सम्बन्ध

-बिजय खत्री

म बगेको नदीसँगै भलाकुसारी गर्छु

कहिले मैले सुन्दैनकि भनी उ जोडले

बोल्छ

कहिले उसले सुनेनकि भनी म जोडले

चिच्चाउँछु

कहिले उ धमिलो आँसु लिएर बग्छ

र म विरक्तिन्छु

अनि सुन्दर फुल सिउँरेर बग्छ

म तस्विर लिन्छु

यता म खुसी उता उ खुसी

क्या जिन्दगी, आहा ! जिन्दगी ।

कहिले लाग्छ

मेरो भगवान नै तिमी हौै

असार साउनमा

घर छैन भनी ढुंगा र काठ ल्याईदियौ

खाना के खाला भनि

नदीभरी थरीथरीका माछा हुर्कायौ, बढायौ

खाना पकाउन दाउरा ल्याईदियौ

आफ्नो आसनका दुई किनारमा साग

रोपिदियौ

मेरा लागि पिउन, पकाउन, नुहाउन, धुवाउन,

सिँचाई, विजुलीका लागि

आफुलाई पूर्ण रुपमा सुम्पियौ

तर नदी ! तिम्रा लागि दिन मसँग केही छैन्

छ्या ! मेरो रित्तो जिन्दगी ।

म रुँदा

मेरा गोप्य आँसु पुछिदिने तिमी बाहेक को

छ र म रोइरहेँ, तिमी बगाई रह्यौ

तिमी बगिह्यौ, म रोईरहेँ

मेरा जस्तै तिमीले धेरैका आँसु बगायौ

होला है

तिमीले मसँग अरु कसैको आँसुको बारेमा

बखान गर्दै गरेनौ

र त तिम्रो विस्वासमा आँसु बगाउँछु

मेरा जिजु, जिजुमाका आँसु

मेरा हजुरबा, हजुरआमाका आँसु

मेरा बाबाआमाका आँसु पनि बगायौ

होला नि है

कतै मेरा भाईबहिनीका आसुँ त

पोखिएका छैनन्

के मेरी पूर्व प्रमिकाका पनि आँसु

छचल्किएका थिए ?

मेरी श्रीमति, छोराले पनि आँसु बगाउँदै त

छैनन् ?

म बेजवाफि प्रश्न गरिरहन्छु

तिमी गोप्य सलल, गोप्य सलल भनि

बगिरहन्छौ

हाम्रो भाषा विहिन सम्बन्ध

धन्य ! जिन्दगी ।

२०७९ फागुन १४/२०२३ फेबु्रवरी २६

टाेखालाइभ डट कम/१६ फागुन २०७९

Exit mobile version