JanaKura

मलाई बाल मतलब !

मन खत्री (सागर ) २०७९-४-५

 

मलाई बाल मतलब !

काङ्ग्रेस, एमाले, माओवादी,

एउटै ड्याङ्गका मुलाहरु,

पहिरिए ज्यान चिलाउनी,

काधमा राखे,

काधै गन्हाउनी,

जति कुर्लेर भोट हाले पनि,

आखिर पेट पाल्न परदेशै जानू पर्ने भएपछि,

कुकुर ब्याए पनि तुईए पनी,

मलाई बाल मतलब !!!

सगरमाथाको देश रे,

हिमालै हिमालको स्वर्ग भुमि,

बुद्ध जन्मेको देश,

शान्ति भुमि,

सीता, भृकुटी, जनक, अरनिको र

बलभद्र,

जो सुकै जन्मे पनि,

एयरपोर्टमा चप्पल छिन्दा,

छिनेकै चप्पल समातेर खादा झैँ ,

म हवाईजहाज चढेर पसिना बेच्न,

खाडीमा पुग्नै छ भने,

यी साला नेताहरू,

यिनका जित र हार,

बाँदरको पुच्छर लौरो न हतियार,

मलाई बाल मतलाब !!!

प्राकृतिले भरिभराउ,

हिमाल, पहाड र तराई,

ऋषिमुनी हरुको तपोभुमी,

सुन्दर शान्त मेरो यो देशमा,

द्वन्दमा आफ्नै बा गुमाएर,

महँगीको चपेटामा बुढी आमालाई

रुवाउदै रुवाउदै,

र्भराउदी श्रीमतीको काखमा,

मुना जस्ता छोराछोरीहरु छोडेर,

पेट पाल्नकै लागि,

म पलाएन हुनैपर्छ भने,

चुनावको मुखमा,

यिनका अपिल,

यिनका घोषणापत्र,

गोहीको मुत्र सर्बत न सराव,

मलाई बाल मतलब !!!

राणा फालेर होला,

पन्चायत फालेर होला,

राजा फालेर होला,

देखियो,

सशस्त्र जनयुद्धले होला,

त्यो झन नापियो,

लोकतन्त्र, गणतन्त्र, छाडातन्त्र,

भाडातन्त्र,

धमिरा जस्ता नेता,

अरिङ्गाल र बादर जस्ता कार्यकर्ता,

आलो पालो र पालैपालो,

लुटको धन फुपुको श्रद्धा,

बाघको छाला स्यालको रजाइँ,

अब देशको मायाले मात्रै पेट नभरिने

भएपछि,

चुइटिएकै चप्पल बोकेर म बिदेश

जानै पर्छ भने,

यिनका आश्वासन,

छेपारोको छाला डम्फु न तवला,

मलाई बाल मतलब !!!

श्रावण ११ गते बुधबार टाेखालाइभ डट कममा प्रकाशित

Exit mobile version