JanaKura

कतारी राजकुमारी थानीद्वारा मनास्लु हिमालको सफल आरोहण

टोखा लाइभ ।२०७८ असोज १२ गते

काठमाडौं। कतारी राजकुमारी शेखा आस्मा अल थानीले नेपालको मनास्लु हिमाल सफल आरोहण गरेकी छन् ।

अल थानीले सोमबार बिहान साढे १० बजे बिना अक्सिजन मनास्लु हिमालको चुचुरोमा सफलतापूर्वक पाइला टेकेकी छन्। उनी विश्वका सात महाद्वीपका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने लक्ष्यसहित मनास्लु हिमाल चढेकी हुन्।

थानीले बिना अक्सिजन मनास्लुमा पाइला टेकेकी टिमको गाइड कीर्तिमानी आरोही निर्मल पुर्जाले आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेका छन्।

यसअघि उनले दक्षिण अमेरिकाको ६ हजार ९६९ मिटरको माउन्ट एकोनकागुआ र अफ्रिकाको ५ हजार ८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५ हजार ६४२ मिटर अग्लो माउन्ट एल्ब्रस चढिसकेकी छिन्।

सन् २०२१ को वसन्तमा सगरमाथा आरोहणमा आएकी उनी बेस क्याम्पसम्म पुगेकी थिइन तर मौसममा खराबीका कारण आरोहण जोखिमपूर्ण र असुरक्षित भएकोले अभियान रद्ध गरिएको थियो ।

‘यो वर्ष मेरो लागि चुनौतीपूर्ण रह्यो। मैले विगत कैयौं वर्षदेखिको सपना विश्वको सर्वोच्च शिखर ‘सगरमाथा’ चढ्ने योजना बनाएकी थिएँ तर यस वर्ष हुन सकेन,’ उनले भनेकी थिइन् ‘यो कुरा स्वीकार्न मलाई केही समय लाग्यो । जित्नुहोस् वा हार्नुहोस्, कहिल्यै असफल हुनुहुन्न । त्यसैले लड्नुहोस् जबसम्म तपाइँले अब म लड्न सक्दिन भन्ने अवस्था आउँदैन ।’

Exit mobile version