• 2021-08-07

    ∼अर्जुन श्रेष्ठ∼

    आदरणीय गुरुहरु, अग्रज दाइ दिदीहरु,समकालीन साथीहरु,पुर्वविद्यार्थी र विद्यार्थी भाइबहिनीहरू!

    ऐतिहासिक नगर टोखामा अवस्थित सरस्वती माध्यमिक विद्यालय वि.सं.२०१७ सालमा स्थापित भई २०३१ सालमा निम्न माध्यामिक २०४५ सालमा माध्यमिक र २०५९ सालमा उच्च माध्यमिक हुँदै हाल कक्षा १२ सम्म संचालित छ ।यो विद्यालयले टोखाको लामो इतिहास बोकेको छ।

    वरिपरि शिक्षाको कमी भएको बेला स्थापित यस विद्यालयमा चारैतिरका गाउँहरु धापसी ,गंगबु ,खड्ग भद्रकाली , चुनिखेल,झोर, फुटुङ र साङ्लाका बासिन्दाहरु अध्ययनका लागि यहीँ आउने गर्थे। यो विद्यालयलाई यहाँ सम्म पुर्याउनका लागि हाम्रा अग्रजहरुले धेरै दुःख गरेका थिए। हाम्रा अग्रजहरुले गरेका दुःखका कारण हामी यही विद्यालयमा हुर्कयौ र बढ्याैं ।यही विद्यालयले हामीलाई हिंड्न् , दगुर्न र उड्न सिकायौ ।फलस्वरुप आज हामी यो स्थितिमा छौं ।

    आज विद्यालय यो स्थितिमा आउन तपाई हामीले धेरै काम गरेका छौं। तपाईंहरुबाट समर्थन पनि प्राप्त भइरहेको छ ।
    फलानाले सरस्वतीमा नै भर्ना गर्नु भनी पठाएको भनेर तपाईहरुकै नाम लिँदै विद्यालयमा आउनेहरूको कमि छैन।

    यहाँहरुले व्यक्तिगत रुपमा र संघसंस्था मार्फत विद्यालय पाेसाक तथा छात्रवृत्ति समेत प्रदान गरी विद्यालय प्रतिको दायित्व निर्वाह गर्नुभएको छ ।असजिला परेका विद्यार्थीलाई आर्थिक स्रोत जुटाएर पढाईमा सहायता दिनुभएको छ। यस अर्थमा विद्यालय गौरवान्वित छ ।हाल बारा, मनाङ पर्वत ,मुस्ताङ, पाल्पा, रुकुम ,जाजरकोट, डोटी ,डडेलधुरा र दार्चुला बाहेक ६६ जिल्लाका ९ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। यति हुँदाहुँदै पनि हाम्रा अगाडि केही प्रश्नहरु उभिएका छन्।

    • हामीलाई हुर्काएको यस विद्यालयका लागि हामीले के दियौं ?
    • हाम्रो विद्यालयलाई यतिमा मात्रै सिमित राख्दा चित्त बुझ्छ त?
    •हाम्रा अग्रजहरुले दुख गरि बनाएको विद्यालय हाम्रो लागि मात्र हो कि हाम्रा भावी सन्ततिका लागि पनि?
    •आज त हामी छौं, भोलि विद्यालयलाई माया गर्ने कसले?
    •भोलि यो विद्यालय हाम्रो हो भनी गौरव गर्ने पुस्ता खै ?
    •हामी स्थानीयको माया बिना यो विद्यालय अगाडि बढ्न सक्ला त ?
    •हाम्रा भाइ, बहिनी र छोराछोरीहरुले यस विद्यालयलाई टाेखाको सम्पति ,हाम्रो सम्पती भनेर माया गर्लान् त?
    •यो विद्यालयलाई हाम्रो सम्पत्ति ठानेर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु हाम्रो दायित्व होइन र ?
    •के कमि भएर विद्यालयले स्थानियको माया पाउन सकेन?

    हामीलाई पूर्ण बनाएको यस विद्यालयलाई हामीले अगाडि बढाउनु पर्ने छ। अगाडि बढाउँदा आइपरेका बाधा र समस्याहरु हामीले हटाउनु पर्नेछ। कमी कमजोरीहरु औंल्याएर विद्यालयलाई सुधार्दै लैजानु पर्नेछ।यो विद्यालय कुनै व्यक्ति होइन, यहाँ पढाउने शिक्षकको मात्र पनि होइन। यो टोखाको स्थानीय समुदायको अमूल्य सम्पत्ति हो।आज यो विद्यालयलाई स्थानीयहरूको मायाको खाँचो छ।

    हाम्रा अग्रजहरुले रोपेको यो विरुवा रूपी विद्यालय रुखको रुपमा झाँगिएर हामीलाई शितलता र फल दिएको छ ।
    तर स्थानीयहरुले यसको शीतलता र फल लिन गाह्रो मानेको देखिन्छ ।यस विद्यालयमा टाेखाका स्थानीय विद्यार्थीहरु नहुनु ज्यादै दुःखद् कुरा हो ।

    हामी सबै स्थानीयले यो हाम्रो हो ,यो हाम्रा सन्ततिका लागि हो।
    यसमा लागेको फल हामीले नै लिनुपर्छ भनी सबै स्थानीयहरु विद्यालयमा प्रवेश भई आफूलाई सक्षम बनाउनु आजको आवश्यकता हो ।

    अन्त्यमा माथि उभिएका प्रश्नहरुका समाधान खोज्नु हाम्रो दायित्व पनि छँदैछ साथै यस विद्यालयमा यहि मिति २०७८ श्रावण ३० गते शनिबार पुर्व विद्यार्थी मञ्च गठन गरिने भएकोले विद्यालयमा अध्ययन गरि हाल विभिन्न क्षेत्रमा कार्यरत सम्पुर्ण पूर्व विद्यार्थीहरुले आ- आफ्नो साथीहरूको समुहमा छलफल गरि आफ्नो समुहको प्रतिनिधिको रूपमा सहभागी हुनको साथै साथीहरूको समुहमा आबद्ध हुन नसकेका विद्यार्थीहरुले वैयक्तिक रूपमा विद्यालयमा संलग्न हुन यसै सूचनालाई आधार मानी उक्त दिन विहान ७ बजे विद्यालयमा भवनमा उपस्थितिको लागि अनुरोध गर्दछु ।

    अर्जुन श्रेष्ठ
    प्रधानाध्यापक
    सरस्वती माध्यमिक विद्यालय
    टोखा,काठमाडौ

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै