JanaKura

नेपाल र अमेरिकाबीच लामो सहकार्य छ : अमेरिकी विदेशमन्त्री ब्लिकेन

टोखा लाइभ । २०७८ असार २९ गते

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिकेनले नेपाल र अमेरिकाबीच लामो सहकार्य रहेको बताएका छन्। अमेरिकाले नेपाललाई प्रदान गरेको कोरोना भाइरस विरुद्धको खोप नेपाल पुगेपछि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

विदेशमन्त्री ब्लिकेनले आधिकारिक सामाजिक सञ्जालमा लेखेका छन्, “आज अमेरिकाले जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ। हामीबीच रहँदै आएको लामो सहकार्य अहिले खोप आदानप्रदानमा मुखरित भएको छ। यसले नेपाली जनतालाई महाविपत्तिका बेला थप सुरक्षित राख्न मद्दत गर्ने छ।”

यसैबीच अमेरिकास्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी सहयोगका लागि अमेरिकी सरकार र जनतालाई हार्दिक आभार व्यक्त गरेको छ। अमेरिका र नेपालबीच ७३ वर्ष लामो दौत्य सम्बन्ध कायम छ । कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो। अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो।

Exit mobile version