टाेखालाइभ/असार ७ काठमाडौं
कीर्तिपुर नगरपालिकालाई स्थानीय संघ नेवाः अगुवाहरुले सामुहिक रुपमा स्थानीय टोलको नाम स्थानीय भाषामा पुरानै राख्नुपर्ने माग गरेका छन । आउदो नगरसभामा नीतिगत रुपमा पारित गर्नका लागि माग गरिएको सो पत्र शुक्रबार कीर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती खड्कालाई बुझाएको हो । कीर्तिपुरका भाषिक कार्यकर्ता एवं नेवाः अभियन्ता बुद्धिलाल ज्यापु, बुद्धिलाल महर्जन, श्रीकृष्ण महर्जन, सरलगोपाल महर्जन, रामभोला महर्जन, अर्जुन महर्जन, रिदेन महर्जन,अमरकाजि महर्जन, दिलकुमार महर्जन, सनिल महर्जन र रत्नशोभा महर्जन र नरेश श्रेष्ठ द्वारा हस्ताक्षरित पत्र उप प्रमुखलाइ बुझाएको हो। पत्रमा नव सभ्यताको लामो इतिहास बोकेको ऐतिहासिक थलो कीर्तिपुर नगरपालिकाका क्षेत्रमा ८०–९० मीटरको छोटो दूरीमै फरक–फरक ऐतिहासिक स्थानको नामहरु भएको हुँदा ठाँउलाई जनाउने यस्ता ऐतिहासिक नामहरुबाट सो नगरपालिकाको धार्मिक, सामाजिक तथा सांस्कृतिक इतिहास जान्न, बुझ्न र केलाउन सकिने भएकोले यस्ता स्थानको नाम नगरपालिकाको भाषिक तथा सांस्कृतिक सम्पत्ति भएको उल्लेख गरिएको छ ।