JanaKura

ओझेलमा परेको टोखाको जधुं

कुमार रञ्जित , टाेखामा यत्रतत्र छरिएर मिल्किएर रहेका अनेकाैँ कलाकृतिहरु मध्ये भूतखेल अगाडि बाटैमा रहेकाे ठूलाे जधुं पनि एक महत्वपूर्ण छ। नेवाः समाजमा बटुवालाइ पानी खान दिन राखिने कृति हाे जधुं। याे बहुमूल्य मात्रै हाेइन अमूल्य नै छ भन्न सकिन्छ। मैले यसअघि पनि पटक पटक टाेखाबाट प्रकाशित विभिन्न स्मारिका र पुस्तकहरुमा उल्लेख गरेकाे भूतखेल अगाडिकाे जधुंबारे कसैले चासाे देखाएकाे पाइएकाे छैन।

आजभन्दा ३ सय ५७ वर्षअघि नेपाल संवत् ७९७ मा रामचन्द्र नामका व्यक्तिले राखेकाे उल्लेख गरिएकाे उक्त जधुं त्यसै मिल्किएर रहनुकाे अर्थ टाेखावासीमा इतिहास र पुरातत्वप्रति कसैकाे चासाे नरहेकाे प्रष्ट छ। वर्तमानमा वडा नम्बर ३ मा रहेकाे उक्त जधुंलाइ बाटाेमा व्यवस्थित रुपमा राख्न केही हजार रुपियाँ पनि खर्च हुने देखिन्न। तर अरुचि र उत्साहहिनता व्याप्त समाजमा इतिहास तमाशा मात्रै बनिरहेकाे छ। टाेखाका संस्कृति सम्पदाप्रेमी युवा समुदायले चाहेमा ती एेतिहासिक व्यक्तित्व रामचन्द्र काे थिए र उनले इतिहासमा के कस्ता याेगदान दिएका थिए भनेर अध्ययन अनुसन्धान गर्न सक्दछ। विदेशका ठूल्ठूला विश्वविद्यालयहरुले त्यसेतै अनुसन्धानका लागि डिग्री र पीएचडी उपाधी दिने गरेका छन्। टाेखावासीले समय छँदै बुझुन् भन्ने कामना गर्न चाहन्छु।

Exit mobile version